राजनीति

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन : सभापति देउवा



काठमाडौँ, २५ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव नभएको बताउनुभएको छ ।

२५६४औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले वुद्धको उपदेश पालना गरेर देशमा पूर्ण रुपमा शान्ति कायम होस् र भएका अन्याय, अत्याचार तथा सवै प्रकारका दमनहरुबाट नेपाली समाज मुक्त होस् भन्ने कामना गर्नुभएको छ । ‘यो पुनीत अवसरमा म बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्दछु,’ उहाँले सन्देशमा भन्नुभएको छ ।

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको बताउँदै उहाँले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति रहेको दाबी गर्नुभएको छ । विगतका वर्षहरु अशान्ति र द्वन्द्वबाट आक्रान्त रहेको भन्दै उहाँले देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन नसकेको बताउनुभएको छ ।

सन्देशमा भनिएको छ, ‘नेपाल लगायत विश्वका सबै देश अहिले कोरोना भाइरस ९कोभिड १९० बाट प्रताडित छन् । लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता हो । उच्च मनोवलका साथ आपसी सहकार्य र एकता विना यो कार्य सम्भव छैन । यसमा हामी सबै सचेत छौं भन्ने कुरामा म विश्वस्त छु ।’