राजनीति

पूर्वशासकहरुले गरेका गल्तीको पीडा अहिलेको पुस्ताले भोग्नुपर्यो : गृहमन्त्री थापा



काठमाडौँ, २८ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पूर्व शासकहरुले गरेका गल्तीको पीडा अहिलेको पुस्ताले भोग्नुपरेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्ग बनाएको विषयमा सांसदहरुको जवाफ दिदै गृहमन्त्री थापाले पूर्वशासकहरुले नेपालको सीमामा भारतीय सुरक्षा चौकी स्थापना गर्ने अनुमति दिनु नै गम्भीर ऐतिहासिक भूल भएको बताउनुभयो ।

चीनबाट बच्नका लागि भारतले नेपालको सीमामा आफ्नो सेना राख्ने अनुमति माग्दा तत्कालीन शासकहरूले अनुमति दिएर ठूलो गल्ती गरेका उहाँले बताउनुभयो । सोही क्रममा कालापानीबाट भने उनीहरुलाई हटाउन नसकिएको उल्लेख गर्दै उहाँले अहिलेको समयमा भारतले कालापानीमा आफ्नो हजारौं सुरक्षाकर्मी राखेर पूर्णतः कब्जा गरेको पनि जनाउनुभयो ।

यसैबीच उहाँले यस विषयमा सिंगो भएर आवाज उठाएमा नेपाली भूमि फिर्ता हुने विश्वास व्यक्त गर्नुभएको छ । चीनसँग सहमति गरेर भारतले नेपाली भूमि हुँदै व्यापारिक नाका खोलेकाले यस विषयमा नेपालले चीनसँग पनि कुरा गर्नुपर्ने बताउनुभएको छ ।