राजनीति

महिला समितिद्वारा बालसंगठनलाई ६ बुँदे निर्देशन



काठमाडौँ, ८ असोज । संघिय संसद महिला तथा सामाजिक समितिले नेपाल बालसंगठनको विद्यमान अवस्था र सुधारको लागि ६ बुँदे निर्देशन दिएको छ ।

समितिका सभापति निरुदेवी पालको संयोजकत्वमा बुधवार बसेको बैठकमा बालसंगठनको विद्यमान अवस्था र सुधारका लागि नयाँ कार्यसमितिको आगामी कार्यसोच विषयक कार्यसूची माथि नेपाल बालसंगठन, तदर्थ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग छलफल पश्चात ६ बुँदे निर्देशन दिएको हो । समितिले कानुन गतिशिल दस्तावेज भएकाले त्यसको आवश्यकता र माग अनुसार सुधार, संशोधन तथा पुनरावलोकन गर्नुपर्ने उल्लेख गर्दै बालसंगठन संघियताको मर्म अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिएको छ ।

समितिले बाल संगठनको पूर्वकार्य समितिले आधिकारिक रुपमा आफ्ना अभिलेख एवं कागजातहरु हालको तदर्थ कार्य समितिलाई हस्तान्तरण नगरेकोले अभिलेख एवं कागजातहरु अहिलेको कार्य समितिलाई १५ दिन भित्र समाज कल्याण परिष्दको रोहवरमा हस्तान्तरण गर्न, गराउन र उक्त समय भित्र हस्तान्तरण नगरेमा कानूनी कारवाहीको दायरामा ल्याउन समिति समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ ।

६ बुँदे निर्देशन

१. कानूनहरु गतिशिल दस्तावेज हुन र हुनुपर्दछ । कानूनहरुलाई समय, देशको अवस्था, समाजको माग र आवश्यकता तथा परिस्थिती अनुसार सुधार, संशोधन, पुनरावलोकन वा प्रतिस्थापन गर्नु पर्ने हुन्छ । संघीयताको कार्यान्वयनमा देश क्रियाशिल रहिरहेको सन्दर्भमा नेपाल बाल संगठन लगायतका वर्गीय तथा व्यावसायिक संगठनहरु गठन गर्ने आधारको रुपमा रहेको राष्ट्रिय निर्देशन ऐन, २०१८ सान्र्दभिक र समय सापेक्ष छैन । यस ऐनको प्रस्तावनादेखि दण्ड सजाय लगायतका हाल मौजुदा ऐनमा भईरहेका प्रावधानहरुमा समयानुकुल परिमार्जन, संशोधन तथा संघीयताको मर्म, भावना अनुरुप बनाउन आवश्यक देखिएकोले समितिको यो बैठक राष्ट्रिय निर्देशन ऐन, २०१८ लाई समय सापेक्ष संशोधन गर्न वा प्रतिस्थापनको लागि आवश्यक कार्य गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश गर्दछ ।

२. नेपाल बाल संगठनको पूर्वकार्य समितिले आधिकारिकरुपमा आफ्ना अभिलेख एवं कागजातहरु हालको तदर्थ कार्य समितिलाई हस्तान्तरण नगरेकोले समितिको यो वैठक आधिकारिकरुपमा अभिलेख एवं कागजातहरु अहिलेको कार्य समितिलाई १५ दिन भित्र समाज कल्याण परिष्दको रोहवरमा हस्तान्तरण गर्न, गराउन र उक्त समय भित्र हस्तान्तरण नगरेमा कानूनी कारवाहीको दायरामा ल्याउन समिति समाज कल्याण परिषद्लाई निर्देश गर्दछ ।

३. नेपाल बालसंगठन हालको दयनीय अवस्थामा आइपुग्नुमा विगतको अपारदर्शी, असान्र्दभिक, उत्तरदायित्वविहिन र अवैज्ञानिक व्यवस्थापकीय शैली, व्यवहार र नीतिको परिणाम नै हो । पर्याप्त जग्गा, जमीन र भवन लगायतका चल अचल सम्पत्ति भएर पनि संगठनको हालको अवस्था ज्यादै दयनिय र नाजुक देखिन्छ । यही अवस्थाले निरन्तरता पाउनेहो भने संगठनलेआफ्नो सोच, लक्ष्य, उद्धेश्य हाशिल गरी अन्याय, असाहाय, बेवारिसे र उत्पिडनमा परेका बालबालिकाको हित प्रवद्र्धन गर्नु त कहाँ हो कहाँ संगठनको अस्तित्व नै संकटमा पर्न जाने देखिन्छ । नक्कली कागजातका आधारमा बालबालिकाहरुलाई अन्यत्र बालगृहमा स्थानान्तरण गर्ने गरेको, संगठनको जग्गा लिजमा दिने कार्य कानून सम्मत नभएको, धर्मपुत्रपुत्री सम्बन्धी सिफारिस गर्ने कार्य कानून विपरीत रहेको, संरक्षित बालबालिकाहरुको खानामा नै कमिशन हुने गरेको, कानून भन्दा बाहिर गई विदेशी नागरिकलाई बालबालिका बेचबिखन गर्ने गरेको, कर्मचारीहरुको व्यवस्थापन चुस्त, योग्यतामा आधारित र वैज्ञानिक नभएको, बालबालिकाहरुको खण्डिकृत तथ्याङ्क सहितको अभिलेख चुस्त दुरुस्त नभएको जस्ता आरोपहरु संगठनलाई लाग्ने गरेको वर्तमान परिप्रेक्षमा यी उल्लिखित विषयक्षेत्रहरु तथा अन्य आवश्यक क्षेत्रहरु समेतको वर्तमान अवस्थाको यर्थाथ परिवेश झल्कने गरी १ (एक) महिना भित्र स्वेतपत्र जारी गर्न तथा आगामी दिनमा संगठनलाई प्रभावकारी व्यवस्थापन गर्न एवं लक्षित वर्गको हितअनुकुल बनाउने सन्र्दभमा कार्यक्रमहरु सहितको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन रणनीतिक कार्ययोजना तर्जुमा गरि कार्यान्वयन गर्न, गराउन समितिको यो वैठक नेपाल बालसंगठनलाई निर्देश गर्दछ । साथै माथि उल्लिखित विषयहरुमा आवश्यक समन्वयको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषदलाई समेत निर्देश गर्दछ ।

४. नेपाल बाल संगठनको ७५ जिल्लामा जग्गा जमिन र भवनहरु रहेको देखिन्छ । संगठनको केन्द्रीय कार्यालय परिसरमा रहेको १०२ रोपनी जमिन मध्ये हाल संगठनले उपभोग गरेको नक्साल स्थित केन्द्रिय परिसर रहेको ५१ रोपनी १३ आना ३ पैसा जग्गा समेत खण्डित गरी टुक्रा टुक्रामा अन्य निकायहरुलाई लिजमा दिइएको अवस्था छ । विभिन्न स्थानमा संगठनको नाममा रहेको केही जग्गा प्रचलित ऐन कानूनको प्रतिकुल हुने गरी, संगठनको हित अनुकुल नहुने गरी र अपारदर्शी ढंगबाट लिजमा दिइएको देखिन्छ । तसर्थ संगठनको नाममा रहेको सम्पूर्ण जग्गा तथा भवनहरुको स्पष्ट, चुस्त दुरुस्त, वैज्ञानिक र खण्डिकृत तथ्याङ्क सहितको अभिलेखिकरण गर्न, संगठनको नाममा भएको जग्गा र भवन कुनकुन निकाय र व्यक्तिहरुलाई किन, कहिले, कसरी, कहिलेसम्म लिजमा दिइएको हो सोको स्पष्ट आधार प्रमाण सहितको अभिलेखिकरण गर्न, लिजमा जग्गा तथा भवनहरु दिँदा चरम आर्थिक अनियमितता भएको जनगुनासाहरु देखिएकोले नियम विपरीत र संस्थाको हित प्रतिकुल हुने गरी गरिएका यस्ता लिज सम्झौताहरु यथाशिघ्र (१५ दिन भित्र) यस समितिलाई उपलव्ध गराउन तथा संगठनलाई विभिन्न स्रोतवाट प्राप्त हुने आर्थिक पक्षको अभिलेख वित्तिय पारदर्शिता र उत्तरदायित्व कायम हुने गरी व्यवस्थापन गर्न समितिको यो बैठक नेपाल बाल संगठनलाई निर्देश गर्दछ । साथै आवश्यक समन्वयको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषदलाई समेत निर्देश गर्दछ ।

५. कुनै पनि निकाय तथा संस्थाको लक्ष्य तथा उद्धेश्यहरु प्राप्तिमा त्यस निकाय तथा संस्थाको प्रभावकारी व्यवस्थापनको ठूलो भूमिका रहन्छ । त्यसैगरी दक्ष, योग्य, प्रतिवद्ध र व्यवसायिक कर्मचारीहरुको सहि छनौट, पदस्थापन, वृत्ति विकास, सेवा, सर्त र सुविधा तथा सुपरिवेक्षणले झन्बढि महत्व राख्दछ । अनुगमनको क्रममा संगठनको केन्द्रीय कार्यालयमा समेत कार्यकारी निर्देशक लगायत कार्यसमितिका पदाधिकारीहरु र अन्य कर्मचारीहरुको बस्ने ठाउँ समेत व्यवस्थित नभएको देखिएकोले संगठनलाई प्राप्त हुने आर्थिक श्रोतलाई थप पारदर्शी बनाई संघीय संरचना अनुसार केन्द्रीय कार्यालय सहित सबै जिल्लाका कार्यालयहरुलाई व्यवस्थित गर्न र कर्मचारीहरुको छनौट प्रक्रियाको लागि एकिकृत छनौट मापदण्ड बनाई सम्बन्धित निकायबाट स्वीकृत गरेर मात्र कार्यान्वयन गर्न समिति नेपाल बाल संगठनलाई निर्देश गर्दछ । साथै आवश्यक समन्वयको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषदलाई समेत निर्देश गर्दछ ।

६. बाल संगठनमा रहेका बालबालिकाहरुको ज्ञान र क्षमतालाई सीपसँग, सीपलाई कामसँग र कामलाई उत्पादनसँग जोडिएको देखिएन । संगठनमा रहेका बालबालिकाहरु जीवन धान्नको लागि मात्रै संगठनमा आश्रित रहेको देखिन्छ । संगठनले प्रदान गर्दै आएको सेवा निर्वाहमुखी मात्रै रहेको समेत पाइएको छ । साथै संगठनले बालबालिकाहरुलाई यसरी राख्दा एकातिर उनिहरुले पैत्रिक सम्पत्तिको हक, प्रयोग र संरक्षणको क्षमता र मनोवल गुमाउँदै जाने संभावना प्रवल रहन्छ भने अर्कोतिर बालबालिकाहरु पारिवारिक माया र पुनर्मिलनबाट वञ्चित हुने अवस्था समेत रहन्छ । तसर्थ परिवार भएको तथा परिवारबाट नैहेरचाह र रेखदेख हुन सक्ने बालबालिकाहरुको पहिचान गरी पारिवारिक पुनर्मिलन गराउन र आवश्यकताअनुसार सामाजिक पुर्नस्थापना समेत गर्न गराउन, यहाँबाट उत्पादित जनशक्तिको ज्ञान र सीपलाई उनिहरुको इच्छा, चाहना, रुची, क्षमता, उमेर अनुसार उत्पादनशिल क्षेत्रमा लगाउने व्यवस्था गर्न समिति नेपाल बाल संगठनलाई निर्देश गर्दछ ।