राजनीति

ओली–प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको मापदण्ड बनाउँदै



काठमाडौँ, ९ असोज । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर छलफल गर्नुभयो । तर, पुनर्गठन र नियुक्तिको साझा मापदण्ड बनाउन सक्नुभएन ।

झन्डै तीन घण्टा चलेको छलफलमा मन्त्रीमण्डल पुनर्गठनकै विषयमा अधिकांश समय गएको बुझिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएपछि अध्यक्षद्वयले यसलाई कार्यान्वयन गर्ने अभ्यास थाल्नुभएको हो । पछिल्लो नेकपा सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठन गर्ने एजेन्डाले प्रवेश पाएपछि पुनः कोभिड महामारीलाई छायामा पार्ने गरी नेकपा पुनर्गठन र नियुक्तितिर केन्द्रित भएको छ ।

दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनमा तीन विकल्प प्रस्तुत गरे पनि अहिलेसम्म मापदण्ड तय हुन सकेको छैन । दुई अध्यक्षबीच यस विषयमा पुनः छलफल हुनेछ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।