राजनीति

कांग्रेसको गुण्डागर्दीबाट देश र पार्टीलाई बचाऔंः सांसद बस्नेत



काठमाडौँ, १९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलमाथि गरिएको आक्रमण कायरतापूर्ण तथा पतित कार्य भएको बताउनुभएको छ ।

आइतवार साँझ काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको थियो । कांग्रेसका कार्यकर्ताद्वारा काठमाडौँबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री पोखरेल सवार गाडी र उहाँको स्कर्टिङमा रहेका दुई वटा अगुवा र पछुवा गाडीमा समेत क्षति भएको छ । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ । सोही प्रशंगमा आक्रोस व्यक्त गर्दै सांसद बस्नेतले दलाल पूँजीवादको मोर्चा र गुण्डागर्दीबाट पार्टी र देशलाई जोगाउनुपर्ने बताउनुभयो ।

अपराधिक सोच र विचार बोकेका जत्थाले आफ्नो निहित स्वार्थका कारण मुख्यमन्त्री पोखरेलमाथि ढुंगा मुँडा प्रहार गरेको भन्दै सांसद बस्नेतले यस्ता अराजक जत्थाको बिरुद्दमा धैर्य र सुझबुझका साथ सत्यको साथमा उभिन आम नागरिकलाई आग्रह समेत गर्नुभयो ।

मुख्मयन्त्री पोखरेलले प्रदेश नं. ५ को नाम लुम्बिनी र राजधानी दाङ तोकेर सही निर्णय लिनुभएको उल्लेख गर्दै सांसद बस्नेतले संघीयता जोगाउनको लागि शक्तिको दम्भ देखाउनेहरुको दबाबमा नभई आवश्यकताका आधारमा राजधानी तोक्ने र विकासका पहल गर्ने आट गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘शंकर पोखरेलको राजनीतिक क्षमता देखेर जलेका र प्रदेश राजधानीको बिषयमा बुटवलको जनतालाई भडकाएर आफ्नो राजनैतिक अभिष्ट पूरा गर्ने र सरकार र नेतृत्व असफल भयो भन्ने पार्ने र अब यो ब्यबस्था नै परिबर्तन गर्नु पर्दछ भनेर लागेका केही पुरातनबादी शक्ति, कथित अभियान्ताका नामका केही झुण्ड, सोसियल मिडिया र मिडिया मार्फत भ्रम फिजाउने केही अराजक बुद्धिजीवी र अहिले थपिएको काँग्रेसको एउटा पङ्तीको प्रत्यक्ष संरक्षण, योजना र सक्रियतामा आज बुटवलमा जसरी मुख्य मन्त्री माथी ढुंगमुढा प्रहार भयो । यो अत्यन्तै कायरतापूर्ण र पतीत काम हो । बुटवल बासी जनताले आफ्नो माग र आवाज उठाउन पाउनु उहाँहरुको लोकतान्त्रिक अधिकार हो । तर यस्तो बेला अनेक खालका षड्यन्त्रको तानाबाना बुनिन सक्छ धैर्य र सुझबुझसाथ अभियान चलाउ । स्वम शकंर कमरेडले आन्दोलन गर्नु परेन तपाइहरुको कुरा सहजताका साथ सुनिने छ भन्नू भएको परिवेशमा सबै मिलेर सहयोग गरौ संघीयता जोगाँउ ।’

भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले मुख्मयन्त्री पोखरेललाई आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । पक्राउ पर्नेमा कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की पक्राउ परेका हुन् । प्रहरीले भने ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।