Banner News

प्रचण्डले हिंसात्मक बाटो रोजे सिंहदरवारको यात्रा नभई विप्लवसँग जंगलको यात्रा हुनेछ : पूर्वमन्त्री बस्नेत



पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक व्यक्तिलाई नभई जनवारलाई समेत लट्ठीले हान्न नपाउने व्यवस्था भएका कारण पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा लट्ठी खाने अभिव्यक्ति दिनु हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्साले बिरगंजमा आयोजना गरेको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले लट्ठी खान नै मन हुनेलाई आगामी बैशाख १७ र २७ को निर्वाचनमा जनताले दिने समेत चेतावनी दिनुभयो । निर्वाचनमा अब लट्ठी खाने पालो प्रचण्डको आएको उल्लेख गर्दै नेता बस्नेतले निर्वाचन पछि लड्डु खाने पालो प्रधानमन्त्री केपी ओलीको हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘परिवर्तित नेपाली समाजमा कुकुरलाई समेत लट्ठीले हान्नु हुँदैन भन्ने विकास भएको छ । तर प्रचण्डले आन्दोलनको नाममा आफुलाई लट्ठी हान्नुहोस् भनि भन्नुहुन्छ भने अव तपाईको हैसियत कुकुर भन्दा पनि कम भएछ । तपाईलाई लट्ठी खान नै मन छ भने आगामी बैशाख १७ र २७ को निर्वाचनमा आउनुस्, जनताले मजाले दिनेछन् । लट्ठीको सट्टा लड्नु खुवाएछन् भने त्यो पनि हेरौंला । त्यसपछि तपाईको इच्छा पुरा हुन्छ । लोपन्मुखमा पर्नुहुन्छ, टर्चलाईट लगाएर खोज्ने दिन आउनेछ । लट्ठी खाने हो की लड्डु खाने हो ? त्यो फैसला गर्ने अधिकार नेपाली जनतामा रहेको छ । अब लट्ठी खाने पालो प्रचण्डको हो । निर्वाचन पछि लड्डु खाने पालो प्रधानमन्त्री केपी ओलीको हुन्छ ।’

आफु निकट गुटका युवा विद्यार्थीको हिजो एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अबको आन्दोलन साहाकारी नभई मांसहारी हुने गरी आक्रामक रुपमा प्रदर्शन गर्न निर्देशन दिनुभएको थियो । जसले गर्दा मुलुकमा पुनः अराजकता, अस्थिरता, हिंसा, आतंकको बाटोमा मुलुक पुनः फस्ने सम्भावना देखिएको छ । प्रचण्डको निर्देशनसँगै केही मात्रामा भौतिक आक्रमणका घटनाहरु समेत शुरु भएको छ ।

सोही प्रशंगलाई लक्षाीत गर्दै नेता बस्नेतले प्रचण्डलाई लोकतान्त्रीक व्यवस्थामा युद्धकालको जस्तो सेनाको व्यारेक तथा प्रहरी कार्यालय आक्रमण गरि हिंसात्मक बोटा नरोज्न सुझाव समेत दिनुभयो । प्रचण्डले हिंसात्मक बाटोलाई रोजेमा सिंहदरवारको यात्रा नभई विप्लवसँगको जंगलको यात्रा हुनेमा समेत प्रचण्डलाई नेता बस्नेतले सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईले युद्धकालमा सेना तथा प्रहरीको व्यारेक आक्रमण गरेको धङ्धङ्गी छोड्नुस्, २०६४/६५ मा बैसको धङ्धङ्गीले मात्तीएको हुनुहुन्थ्यो । अब तपाई बुढो भइसक्नुभयो । बुढो माओवादी, बुढो प्रचण्डलाई अब कसैले टेर्दैनन् । अब पनि हिंसाको कुरा गरेर सिंहदरवार तथा केपी ओलीमा पुग्ने हैन, विप्लवपथमा पुग्नुहुन्छ । विगतको प्रायश्चितलाई आत्मसात् गर्दै कमाण्डलु बोकेर अब जंगलको यात्रा तय गर्न सक्नुहुन्छ । तर लोकतन्त्रमा जनताको अभिमत लिने कुरालाई फरक कुरा गर्नुको कुनै अर्थ छैन ।’

प्रचण्ड–माधवले युवा विद्यार्थीलाई सडक आन्दोलन चर्काउन निर्देशन दिए अनुसार दुई चार जना युवा विद्यार्थीले सडक विभिन्न प्रकारका आन्दोलन गरेको नेता बस्नेतले बताउनुभयो । प्रधानमन्त्री ओलीको कदमको विरुद्धमा मान्छे नभएपछि अब प्रचण्डले आन्दोलन साहाकारी नभई माम्सहारी हुनुपर्छ, गर्नुपर्छ भनि युवा विद्यार्थीलाई दिएको निर्देशन आत्मघाती भएको उल्लेख गर्दै नेता संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले शसस्त्र युद्धमा १७ हजार गरिव नेपालीको रगतको प्यास अझै प्रचण्डमा रहेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मान्छेको रगतको प्यास अझै तपाईलाई मेटीएको रहेनछ । हिजो १७ हजार मान्छेको रगतले तपाईलाई त्यो ठाउँमा पुर्याए । तर तपाईले ति मानिस र उसका परिवारले के दिनुभयो ? केवल दिनुभयो त आफ्नो परिवारका साखा सन्तानलाई राजनीतिक तथा अन्य सरकारी नियुक्ति ।’

शान्तिपूर्ण संघर्षको शिर्जनशिल बाटोलाई आत्मसात् गर्दै फरक विचार राख्नेलाई समेत एकता र संघर्षको माध्यमबाट सहभागि गराउनुपर्ने लोकतान्त्रीक व्यवस्थामा आइपुगेको स्मरण गराउँदै नेता बस्नेतले विगतमा माधव कुमार नेपालले पार्टीको नेतृत्व लिनुभयो, त्यो दिन देखी पार्टीलाई तहसनहसको बाटोमा लगेको उल्लेख गर्नुभयो । माधव नेपाल र प्रचण्डकै कारण पार्टीमा संस्थापन गुटवन्दी भइरहेको समेत तथ्यगत रुपमा प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डाक्टरले कुनै विरामी प्रति नकरात्मक सोच्यो भने डाक्टरको लाइसेन्स मान्छे मार्ने पनि हुन सक्छ, प्रहरीले कसैलाई नकरात्मक भाव राख्यो भने त्यो प्रहरीको त्यो बर्दी मान्छेलाई जेल हाल्ने बर्दी हुन सक्छ । त्यस्तै कुनै नेताले आफ्नो पार्टीलाई गुटबन्दी शुरु गर्यो भने त्यो भ्रष्टाचार गर्ने संस्थागत लाइसेन्स हुनसक्छ । त्यो कार्यको नेतृत्व माधव कुमार नेपालले गर्नुभयो ।’

तत्कालिन एमालेको मान, गौरव र स्वभिमान बढाउने केपी ओलीकै आवश्यकता रहेको तथ्यहरु प्रस्तुत गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएको नेता बस्नेतले माओवादीले गरेको शसस्त्र युवको समयमा माधवले एमालेमा नेतृत्व गर्दा कार्यकर्ताहरुको विल्लीबाठ भएको स्मरण गर्नुभयो । माले तथा आम नेपाली युवाहरुको भाग्य र भविष्यलाई सुक्षित बनाउन युवा संघले देशभर ज्यानलाई हत्केलामा राखी माओवादीको उग्रबामपन्थी सोचलाई लत्याउन सफल भएको स्मरण गर्दै नेता बस्नेतले वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले माओवादीलाई मान्छे बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘झलनाथ खनाललाई चिठ्ठा परेर २०६४ मा माधवले राजिनामा दिएपछि पार्टीको अध्यक्ष भएको समयमा पार्टीलाई कुन अवस्थामा पुर्याउनुभयो ? माओवादीले हजारौं तत्कालिन एमालेका कार्यकर्ताहरु मार्दा समेत माधवको नेतृत्वमा रहेको पार्टी दुलोमा लेकेर बसेको, जसले गर्दा एमालेको लोकप्रीयता कम हुँदै गयो, लुलो हुँदै गयो । जसले गर्दा न भाले न पोथी हुन पुगेको थियो । जसले गर्दा २०६४ मा ३३ सिटमा चित्त बुझाउनुपरेको थियो । अहिले आएर नेकपालाई यत्रो विशाल पार्टी बनाउने केपी ओलीको विरुद्धमा विबमन गर्ने ? केपी ओलीले नै अहिले आएर माओवादी बनमान्छे, एमाले मान्छे हुन् । केपी ओलीले बनमान्छेलाई मान्छे बनाउने प्रयास गर्नुभयो तर बन्न मान्नु भएको छैन ।’

जबज बाहेक मुलुकको विकास कसैबाट हुन नसक्ने जसको लागि ज्यानको बाजी हत्केलालाई राखेर विगतको परिवर्तनका आन्दोलनको नेतृत्व गरेको स्मरण गराउँदै नेता बस्नेतले नेपालीको मान, सम्मान र स्वाभिमान भारत, चाइना, अमेरिका भन्दा कुनै कम छैन भन्ने विश्वमा कुटनौतिक सम्बन्ध स्थापना गर्न केपी ओली सफल भएको दावी गर्नुभयो ।

नेकपाको आन्तरिक विवादमा माधव – प्रचण्ड कस्तो व्यवहारका छन् भन्ने भारत, चाइना, अमेरिका तथा युरोपीयन मुलुकहरुले समेत स्पष्ट बुझेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यतावस गर्नुभएको संसद विघटनको विरोध गर्न नसकेको स्पष्ट पार्दै नेता बस्नेतले शक्तिशाली मुलुकहरुले समेत ओलीको कदमलाई स्वीकारेकाले माधव–प्रचण्डले चाइना, भारत, अमेरिकालगायतका मुलुकहरुमा समेत ओलीले सेटिङ गरेको भनि तर्क प्रस्तुत गरिरहेको बताउनुभयो ।

प्रचण्डलाई कम्युनिष्ट पार्टी हस्तान्तरण गरेर धुलो बनाउन नदिने उद्घोष गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले युवा संघ नेपालले मुलुकको वदलिँदो परिवेशमा युवा तथा जनताहरुमा पार्न खोजीएको भ्रमहरु चिर्न देशभर अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।