Banner News

गम्भीरतापूर्वक निर्वाचनको तयारीमा लाग्नुस् : राष्ट्रपति भण्डारी



काठमाडौँ, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।

आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताइन् । ‘शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य छ,’ उनले भनिन्, ‘प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट भएको तयारी सकारात्मक छ, निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास छ ।’

राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाबमोजिम निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्ने काम आयोगको भएकाले बढीभन्दा बढी मतदाताको सहभागिता गराउने तर्फ कार्य गर्न आयोगलाई सुझाव दिइन् । उनले सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।