राजनीति

आफ्नो समूहमा तान्न अफरै–अफरै



काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन् । पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन् । ओली पक्षले नेताकार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ । नेपाल–दाहाल समूहले पनि उचित जिम्मेवारी दिने र भरसक नेताकार्यकर्तालाई ओलीतिर जान नदिने रणनीति लिएको छ ।

तानातानको होड चलिरहेकै बेला ओली समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पाँच सांसदलाई आफ्नो पक्षमा ल्याएको छ। दाहाल–नेपाल समूहले विगतमा जिम्मेवारी नपाएका नेताकार्यकर्तालाई जिम्मेवारी दिएर ओली खेमामा जानबाट रोक्ने रणनीति लिएको छ । ओली समूहले लुम्बिनी प्रदेशबाट भगवतीदेवी भण्डारी, वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीलगायतलाई केन्द्रीय सदस्य बनाएको थियो तर उनीहरू अहिले नेपाल–दाहाल समूहमा लागेका छन् ।

नेपाल–दाहाल समूहमा धेरै नेताकार्यकर्ता गएपछि ओली समूहले गृहमन्त्री थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्वमाओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरूको सहयोगमा पूर्वमाओवादी र पूर्वलडाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ । ओली समूहले पूर्वमाओवादीका नेताकार्यकर्तालाई पार्टीको जिम्मेवारी दिने रणनीति बनाएको छ । ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा समाचार छ ।