राजनीति

सिम आफ्नो नाममा छैन भने तुरुन्तै गराइहाल्नुस्: नेपाल टेलिकम



काठमाडौँ, ६ माघ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न, नाम सच्याउन तथा आफ्नो नाममा बनाउन आग्रह गरेको छ ।

नागरिक एपमा उपलब्ध हुने विवरणमा सिम प्रयोगकर्ता ग्राहक विवरण गलत आउन थालेपछि टेलिकमले यस्तो आग्रह गरेको हो । दूरसञ्चार कार्यालयबाट ग्राहकको विवरण अद्यावधिक/नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भएका हुनाले टेलिकमले यस्तो आग्रह गरेको छ ।

हालै सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएतापनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेका छन् ।

टेलिकमले ग्राहकलाई एस्ट्रिक ९२२ ह्यास डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ/छैन निक्र्यौल गर्न सक्ने जनाएको छ । सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न टेलिकमको आग्रह छ ।

प्रिपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक गर्न के गर्ने ?

अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैंले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।

पोस्टपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक तथा नामसारी गर्न के गर्ने ?

पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ ।