Banner News

प्रचण्ड–माधव समूहको आन्दोलनलाई प्रधानमन्त्री ओलीको काउण्टरः ‘खुट्टी देखेरै पत्याइयो’



काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार गरेको शक्ति प्रदर्शनलाई सामान्य भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँको बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली दुई चार सय नन भेज समूहलाई भेला गरेर आन्दोलनको अर्थ नभएको बताउनुभयो । जनताको आत्मादेखी नै स्वतस्फुर्त रुपमा गरिएको आन्दोलन नभई व्यक्तिगत स्वार्थ र कुर्सी प्राप्तीको आन्दोलनको औचित्य नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खुट्टी देखेरै पत्याइयो । उहाँहरूको सभामा हामी भन्दा अलिकति बढी मान्छे रहेछ, देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् । केही सामान्य जनतालाई विभिन्न बहाना तथा लोभ देखाई दुई चार सय व्यक्ति उपस्थित गराएको आन्दोलनको अर्थ छैन । आन्दोलनमा जनताद्वारा स्वतस्फुर्त आउनुपर्छ । अहिले जनताले बुझेका छन्, माधव– प्रचण्डको आन्दोलन आफन्तवाद, स्वार्थ तथा भ्रष्टहरुको हो । वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’

प्रचण्ड–माधव समूहले संसद पुनस्स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत चेतावनी दिँदै उहाँले संसद पुनस्स्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर व्यक्तिगत टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन ।’ संविधानमा प्रतिनिधिसभा पुनस्स्थापनाको ठाउँ नै नभएको दावी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘वकिलहरूले कुरा फिट्याफिट्यै छ तर संसद पुनस्स्थापना हुनै सक्दैन ।’

सर्वोच्चमा बहस गर्दै वरिष्ठ अधिवक्ता भण्डारीले पार्टीको विवाद सं‌सदमा लगेर पोखेको भन्दै छोरी कुटेर बुहारी तर्साउन खोजेको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो ।