राजनीति

जसपाभित्र तिक्तता बढ्दै, उपेन्द्रलाई कार्यक्रम गर्न नदिने चेतावनी



काठमाडौँ, १० माघ । मर्यादाको विषयमा विवाद बढ्दै गएपछि जनता समाजवादी पार्टीमा शीर्ष नेताबीचको तिक्तता झन बढेको छ । राजकिशोर यादवनिकट कार्यकर्ताहरू आफ्नो बाहुल्य भएको ठाउँमा यादवलाई कार्यक्रम नै गर्न नदिने चेतावनी दिएका छन् । राजकिशोरनिकट नेता तथा पार्टीका केन्द्रीय सदस्य राहुल यादवले भने, ‘मेरो गृह जिल्ला उदयपुरमा उपेन्द्र यादवलाई कार्यक्रम गर्न दिन्नौ । हिम्मत छ भने कार्यक्रम गरेर देखाउनुहोस् ।’

aआफ्नै गृह जिल्ला सिराहामा उपेन्द्रले राजकिशोरलाई अपमान गरेको बताउँदै भने, ‘यो त अति नै भयो। अब चुप लाग्दैनौ ।’ माघ ३ गते जसपाले सिराहमा गरेको विरोध प्रदर्शनमा राजकिशोरलाई चौथौ मर्यादामा राखिएको थियो । पहिलोमा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी, तेस्रोमा विजय यादव र चौथामा राजकिशोरलाई राखिएको थियो । यसबाट राजकिशोर आक्रोशित भएका छन् ।

आफूलाई अपमानित गरेको महशुस गर्दै उनले सिराहाको कार्यक्रम नै बहिस्कार गरेका थिए । त्यसयता उनी पार्टीका सबै सार्वजनिक कार्यक्रम बहिस्कार गरेका छन् । स्रोतका अनुसार उनी पार्टी कार्यालयमा समेत गएका छैनन् । आफनै गृह जिल्ला कार्यक्रम हुँदा पनि उनी काठमाडौंमै बसे । यसबारेमा राजकिशोर सार्वजनिक रूपमा बोलेका छैनन तर राजकिशोर निकट कार्यकताले भने पार्टी अध्यक्ष उपेन्द्रप्रति आक्रोश पोखेका छन् ।

स्रोतका अनुसार आफू अपमानित भएपछि राजकिशोरले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तासँग छलफल र परामर्श गरेका छन् । यसैगरी उनले पूर्व समाजवादी पार्टीका असन्तुष्ट केन्द्रीय तहका नेताहरूसँग पनि सम्पर्क गरेको स्रोतको भनाइ छ । ‘यसबाट जसपामा झन ध्रुविकरण बढ्दै गएको छ,’ स्रोतले भन्यो । आजको नागरिक दैनिकमा समाचार छ ।