राजनीति

चार अमर शहीदको सम्झनामा आजदेखि ‘शहीद सप्ताह’ सुरु



काठमाडौँ, १० माघ । जहाँनिया राणा शासनको विरुद्धमा जीवन उत्सर्ग गरेका चार अमर शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु भएको छ । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आज (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम तालिकाअनुसार आज बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी सप्ताहको शुभारम्भ गरिँदै छ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ ।