Banner News

एमालेका चार नेतालाई पठाइयो स्पष्टिकरण पत्र, दुई नेताको भागाभाग



काठमाडौँ, ९ चैत । नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई आज स्पष्टिकरण पत्र बुझाएको हो ।

चैत ७ गते बसेको एमालेको १२औं कन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भिम रावल र घनश्याम भुसाललाई पार्टीको हित विपरित गुटगत गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सोही अनुसार चारै नेतालाई स्पष्टिकरण पत्र पठाइएको हो ।पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टिकरणपत्र बुझाएका हुन् । नेपाल र पाण्डेका स्वकीय सचिवले पत्र बुझेका छन् भने रावल र भुषाल भने सम्पर्क विहिन भएका छन् ।

रावलले स्पष्टिकरणपत्र बुझ्न अश्वीकार गर्दै पत्र लिएर गएका कर्मचारीलाई घर भित्रै छिर्न दिएनन् । घर भित्र छिर्न नपाएपछि ति कर्मचारीले रावल बस्ने टोखास्थित कोलोनीको सी १४ नम्बर घरको लेटर बक्समा पत्र छिराएर फर्किएको स्रोतले जानकारी दिएको छ ।

घनश्याम भुसालको भने मोबाइल स्वीच अफ रहेकाले पत्र बुझाउन बाँकी रहेको छ । महासचिव ईश्वर पोखरेलको हस्ताक्षरसहित पठाइएको स्पष्टिकरणपत्रमा अभियोगमाथि चित्त बुझ्दो जवाफ तीन दिनभित्र पेश गर्न भनिएको छ । चित्त बुझ्ने जवाफ नआएमा कारवाही किन नगर्ने भन्ने व्यहोरा उल्लेख रहेको एमाले स्रोतले जानकारी दिएको छ ।