Banner News

अलमलमा माओवादी केन्द्र



काठमाडौँ, १० चैत । नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव लाने विषयमा अलमलमा परेको छ ।

प्राविधिक रूपमा सरकार अल्पमतमा परिहालेको छैन तर नेकपा एकीकरण बदर भई साबिकका माओवादी केन्द्र र एमाले ब्युँतिएपछि संकटमा भने परेको छ । माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै सरकार अल्पमतमा पर्छ तर माओवादी केन्द्र समर्थन फिर्ता लिने अथवा अविश्वास प्रस्ताव लैजाने भन्ने विषयमा अनिर्णीत देखिएको छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले स्थायी कमिटी बैठकमा अविश्वास प्रस्तावबारे छलफल हुने बताए । ‘हामी स्थायी कमिटीको बैठक बस्ने तयारीमा छौं । सम्भवतः मंगलबार बैठक बस्छ । त्यही बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल हुनेछ’, उनले भने ।

प्रधानमन्त्री ओली अविश्वासको प्रस्ताव आएमा सामना गर्ने तयारीमा छन् । उनी जनता समाजवादी पार्टीसँग सहकार्य गरेर सरकार सञ्चालन गर्ने दाउमा छन् । एकपटक अविश्वासको प्रस्ताव ल्याएर असफल भयो भने एक वर्षसम्म फेरि यस्तो प्रस्ताव ल्याउन पाइँदैन । यही कारण पनि माओवादीले तत्काल अविश्वास प्रस्ताव ल्याउन आनाकानी गरिरहेको स्रोतको दाबी छ ।

माओवादीले कांग्रेस र जसपासँग सत्ता सहकार्यका लागि प्रस्ताव भने गरिसकेको छ । जसपाको एउटा पक्ष ओलीसँग नरम रहेका कारण माओवादी अविश्वासको प्रस्ताव ल्याउन हच्किरहेको छ । माओवादी स्रोतका अनुसार पार्टी आफैंले अविश्वासको प्रस्ताव ल्याउँदा प्रधानमन्त्रीको उम्मेदवार तोक्नुपर्ने र प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई प्रस्ताव गर्दा कांग्रेसको समर्थन आवश्यक पर्ने हुन्छ ।

कांग्रेसले नै सरकारको नेतृत्व गरोस् भन्ने चाहना माओवादीमा भएका कारण पनि संसद्मा अविश्वास प्रस्ताव नआएको स्रोतले बतायो । ‘कांग्रेसको धारणा पर्खंदा ओली सरकारको आयु लम्बिएको हो’, माओवादीका एक स्थायी कमिटी सदस्यले भने ।

कांगेसले अविश्वासको प्रस्ताव ल्याउने र सकारको नेतृत्व गर्ने बेला भइनसकेको बताएको छ । संसद् पुनर्स्थापना भएदेखि नै ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भएपनि कांगे्रस र जसपाले साथ नदिँदा टरेको थियो । अहिले पनि अविश्वास प्रस्ताव ल्याउन कांग्रेस–माओवादीमा सक्रियता देखिएको छैन । उता ओलीले आफ्नै पार्टीका नेताहरूलाई कारबाहीको तयारी थालेका छन् ।

एमालेभित्र आन्तरिक द्वन्द्व चर्किरहेका बेला माओवादीले अविश्वासको प्रस्ताव ल्याए ओलीले पार्टीमा ह्विप लगाउन सक्ने र माधव नेपाल पक्षका नेताहरू सदनमा अनुपस्थित हुनसक्ने सम्भावना छ । यस्तो बेलामा प्रमुख प्रतिपक्षी र माओवादीले अविश्वासको प्रस्ताव पेस गरेमा पास हुने सम्भावना रहेको बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।