राजनीति

नयाँ भवन बनाउँदै आयल निगम



काठमाडौँ, १२ चैत । नेपाल आयल निगमको बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो ।

गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीनवटै भवनमा रातो स्टिकर टाँसेको थियो । रातो स्टिकर टाँसिएको पाँच वर्षपछि बल्ल निगमले नयाँ भवन बनाउन तयारी थालेको हो । लामो समयको गृहकार्यपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा १० तलाको नयाँ कर्पाेरेट भवन बनाउन बोलपत्र आह्वान गरेको छ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार नयाँ बन्ने कार्यालय भवनको डिजाइनअनुसार भूमिगत दुई तलाको पार्किङ हुने र  जमिनमाथि १० तलाको भवन बनाइनेछ ।

जमिनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र ६ तलाको टावर हुनेछ । नयाँ बन्ने कार्यालय भवनको कोठा अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहने निगमले जनाएको छ । भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहनेछन् । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भवन बनाउन एक अर्ब ७९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

हालको पुरानो कार्यालय भवन भत्काउन सुरु भएपछि निगमको अस्थायी कार्यालय टेकु कार्यालय रहनेछ । रासस