Banner News

कोरोना महामारीमा निजी अस्पतालको कमाउ धन्दा



काठमाडौँ, २४ वैशाख । देश कोरोना महामारीको उत्कर्षमा छ । सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन् । अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा उपयोग गरिरहेका छन् ।

ह्याम्स अस्पतालले बिरामीका लागि बनाएको शुल्कको सूचीसहितको ‘मञ्जुरीनामा’ को सर्वत्र टिकाटिप्पणी भइरहेको छ । कोभिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको ५० हजार रुपैयाँ उक्त अस्पतालले तोकेको छ । सरकारले कोभिडका बिरामीको उपचार गरेबापत सरकारी अस्पताललाई शुल्क तिर्छ । निजी अस्पतालको खर्च बढी हुने भएकाले सरकारद्वारा निर्धारित शुल्कमा ५० प्रतिशत थपेर लिन सकिने छुट दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

अस्पतालमा कोभिड–१९ केयर सञ्चालन सम्झौतामा संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च सामान्य उपचारका लागि ३ हजार ५ सय, मध्यम उपचारका लागि ७ हजार र गम्भीर उपचार (भेन्टिलेटर) का लागि १५ हजार प्रतिबिरामी प्रतिदिन तय गरिएको छ । डा. गौतमका अनुसार त्यो रकम सरकारले प्रत्येक महिना अस्पतालको दाबीबमोजिम शोधभर्ना भुक्तानी गर्छ ।

ह्याम्सले साधारण वार्डकै ७ हजार तोकेको छ । उसले आईसीयू बेडको शुल्क २२ हजार राखेको छ। सरकारले आईसीयूसहितको बेडको शुल्क ७ हजार मात्रै लिनु भनेको छ । आइसोलेसन प्राइभेट रूमको २१ हजार, डिलक्सको २६ हजार र स्विटको ५० हजार रुपैयाँ शुल्क राखिएको छ ।त्यति मात्र होइन, डाक्टरको शुल्क प्रतिभिजिट १५ सय रुपैयाँ राखिएको छ । नर्सिङ शुल्क त्यसमा अतिरिक्त लाग्ने भनिएको छ । तर, कति खुलाइएको छ । यति महँगो शुल्कमा ‘स्विट’ मा बस्ने बिरामीले खानाको शुल्क छुट्टै तिर्नुपर्ने छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।