राजनीति

कांग्रेसलाई प्रमुख आयुक्त थपलियाको जवाफ: ‘तपाईंहरुले बनाएको कानुन पढ्नुस्’



काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसले आफ्नो पार्टीको वैधानिकता माथि प्रश्न चिन्ह खडा हुने अवस्था सिर्जना हुँदै गएपछि कांग्रेसका सभापति शेरशबहादुर देउवा नेतृत्वले महाधिवेशन सार्ने तयारी गरेपछि नेता पौडेलले आइतबार कानुनविद् तथा निर्वाचन आयोगका प्रमुखसँग छलफल गर्नुभएको छ ।

कानुनविद्हरुले विभिन्न विकल्पमा सुझाव दिए पनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पौडेललाई ‘तपाईंहरुले बनाएको कानुन पढ्नुस्’ भन्ने सुझाव दिनुयभो । पौडेलले भन्नुभयो, “मैले उहाँसँग फोनमा कुरा गरेको हुँ । उहाँले कानुन तपाईंहरुले बनाएको हो । हामीले त कार्यान्वयन मात्रै गर्ने हो । त्यसैले तपाईंहरुले बनाएको कानुन एकपल्ट पढ्नुस् भनेर उहाँले जवाफ दिनुभयो ।”

भदौ १९ पछि अहिलेको केन्द्रीय समिति कायम नरहने प्रतिक्रिया दिँदै नेता पौडेलले अझै पनि महाधिवेशन गर्न सकिने तर्क गर्नुभयोे । आयोगका एक पदाधिकारीले भन्नुभयो, “बाहिर निर्वाचन आयोगसँग सहमति लिएको भनेर भनिएको छ । सहमति कोसँग लिएको त्यो थाहा छैन । औपचारिकरुपमा कांग्रेसबाट केही प्रस्ताव आएको छैन । उनीहरुले माग्न खोजेको के हो रु आयोग कानुनभन्दा माथि हुँदैन । कानुनमा टेकेरमात्रै व्याख्या गर्ने हो ।”

कांग्रेसले भदौ अन्तिमसातासम्म महाधिवेशन सम्पन्न गर्न नसके वैधता गुम्ने भएपछि अहिले नेताहरु निर्वाचन आयोगसँगको लगातार परामर्शमा छन् । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा एकपल्ट पदाधिकारीको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार विशेष परिस्थितिमा ६ महिना थप गरिएको समयमा पनि कांग्रेसले तय गरेको मितिमा महाधिवेशन नहुने भएपछि नेताहरु परामर्शमा जुटेका हुन् ।