राजनीति

काम नगर्नेलाई उन्मुक्ति हुँदैन: कुलमान घिसिङ



काठमाडौँ, २७ साउन । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कार्यभार ग्रहण गर्दै काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउने बताएका छन् ।

आज विद्युत प्राधिकरण कार्यालयमा पुगेर पदबहाली गर्दै उनले काम लिएर, समयमै नगर्ने परिपाटीबाट कसैलाई उन्मुक्ति नदिइने टिप्पणी गरे । उनले भने, ‘कसैको पनि कुरा काट्ने र टिकाटिप्पणी गर्नेभन्दा पनि आफ्नो काम अगाडि बढाउनेबारे सोच्नेछौं ।’

संस्थालाई डिजिटलाइजेसन गर्ने, स्मार्ट मिटर देशभर प्रयोग गराउने, शहरी क्षेत्रमा विद्युतीय तारहरु अन्डरग्राउन्डिङ गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । ‘शहरलाई पोलरहित, ताररहित बनाउन सडक विभाग लगायत सबैसँग मिलेर कार्यान्वयनमा जानुपर्नेछ’ उनले भने । ट्रान्समिसन लाइनको अभावमा बिजुली खेर जाने अवस्था आउन नदिने उनले बताए ।