अर्थ

२६ स्थानीय तहले अझै ल्याएनन् बजेट



काठमाडौँ, ९ कार्तिक । चालु आर्थिक वर्ष (आव) २०७९/८० को तीन महिना सकिँदासम्म २६ स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये बजेट नल्याउनेमा मधेस प्रदेशका २३ र लुम्बिनी प्रदेशका तीन स्थानीय तह रहेका छन् । अरू पाँच वटा प्रदेशका ७२७ स्थानीय तहले भने बजेट ल्याएका छन् ।

बजेट नल्याउने स्थानीय तहमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्ने गैडहवा गाउँपालिका, दाङको राजपुर गाउँपालिका र बाँकेको डुडुवा गाउँपालिका रहेका छन् । त्यसैगरी, मधेस प्रदेशअन्तर्गतको सिराहा जिल्लामा पर्ने मिर्चैया नगरपालिका, सिराहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाका धनुषाधाम नगरपालिका, नगराइन नरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिकाले हालसम्म पनि बजेट ल्याएका छैनन् ।

त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिका, सर्लाहीका मलंगवा नगरपालिका र विष्णु गाउँपालिका रहेका छन् । रौटहटका कटहरीया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका रहेका छन् । बाराका महागढीमाई नगरपालिका र पचरौता नगरपालिकाले हालसम्म चालु आवको बजेट पेस गरेका छैनन् ।

पर्सा जिल्लामा भएका १४ स्थानीयतहमध्ये तीन स्थानीय तहले हालसम्म पनि बजेट पेस गरेका छैनन् । बजेट पेस नगर्नेमा धोबीनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिका रहेका छन् ।