अर्थ

वैदेशिक व्यापारमा उच्च गिरावट



काठमाडौँ, १४ कार्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक व्यापारमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागका अनुसार असोजसम्ममा वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले कमी आएको छ । सरकारले मूख्य आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएसँगै कुल आयात घटेको छ भने यसले व्यापार घाटामा समेत कमी आएको छ । वैदेशिक व्यापारमा नगण्य हिस्सा रहेको निकासी व्यापारमा समेत कमी आउँदा सबै सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऋणात्मक बनेका छन् ।

विभागका अनुसार आयात तथा निर्यातको योगफल अर्थात् कुल वैदेशिक व्यापार अघिल्लो आ.व.मा ५ खर्ब ४३ अर्ब ५७ करोड चालू आ.व.को असोजसम्ममा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । वैदेशिक व्यापारमा निकासीको हिस्सा अघिल्लो वर्ष ११.९७ प्रतिशत रहेकोमा चालू वर्षमा घटेर ९.४४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.०३ प्रतिशतबाट बढेर ९०.५६ पुगेको तथ्यांक छ । असोजसम्म निकासी व्यापार झन्डै ३६ प्रतिशतले घटेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।