Banner News

जीबी राई जहाँ भए पनि समाएर ल्याउँछौं : गृहमन्त्री लामिछाने



काठमाडौँ, ११ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा संलग्न रही फरार जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने बताएका छन् ।

काठमाडौँमा शनिबार आयोजित ‘वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति’ विषयक कार्यक्रममा गृहमन्त्री लामिछानेले सरकारले पूरा जोड लगाएर राईलाई समात्ने बताएका हुन् । गोर्खा मिडिया ग्रुपमा जीबी राई आफ्नो व्यापारिक साझेदार भए पनि त्यसपछि भने उनीसँग कुनै सम्बन्ध नरहेको लामिछानेले दाबी गरेका छन् । आफ्नो र राईको सम्बन्ध रहेको भनेर अफवाह फैलाइएको उनको भनाइ थियो ।

उनले भने, ‘ऊ दोषी रहेछ भने सबक सिक्नुपर्छ । कारबाही हुनुपर्छ र अर्को कुरा पनि भन्न चाहन्छु आकाश–पाताल जहाँ रहेको भए पनि समाएर ल्याउँछौं । समय लाग्ला । कसले भगायो त्यो पनि खोज्छौं  । कहिलेकाहीं गलत कुरा भनिदिइसकेपछि हो कि क्या हो जस्तो लाग्छ कतिलाई । सुन्नेहरूलाई पनि होला यो जीबी राईसँग टीभी पनि चलाएकै हो, भनेपछि हो कि क्या हो भन्ने कतिलाई लाग्दो पनि होला । जीबी राई जोडिएका हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग मैले टेलिभिजनमा काम गरेको हो । टेलिभिजनसँगै उनीसँगको मेरो नाता पनि सकिएको हो । त्योभन्दा बढी कहीं पनि कतै पनि छैन ।’

स्वयं लामिछाने पनि सहकारी ठगीमा संलग्न रहेको र त्यसको छानबिनमा प्रभाव पार्ने मन्त्रालयको नेतृत्वमा रहेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोध गरिरहेको छ । कांग्रेसले गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिनुपर्ने, संसदीय छानबिन समिति गठन गर्नुपर्ने लगायतका सर्त अगाडि सार्दै त्यसो नगरिए संसद् अवरोध गर्ने चेतावनी दिँदै आएको छ । जवाफमा लामिछानेले भने सहकारी ठगीमा संलग्न रहेका राईलाई पक्राउ गर्ने भन्दै कांग्रेसलाई बहसमा आउन चुनौती दिएका छन् ।