राजनीति

नागढुंगा-सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुँदै



काठमाडौँ, २ बैशाख । निर्माण थालेको ५३ महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङ सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । अब दुई मिटर सुरुङ खन्न बाँकी छ, जुन ‘ब्रेक थ्रु’ गर्ने दिन पूरा हुनेछ । विस्फोटक पदार्थ प्रयोग गर्दै बाँकी खनेर ‘ब्रेक थ्रु’ गरिनेछ । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । 

सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुगिनेछ । कुनै समस्या नआए सोमबार सुरुङको ‘ब्रेक थ्रु’ हुने नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए । काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किमि दूरीमा पुगिने सिस्ने खोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किमिमै पुगिने भएको आयोजनाले जनाएको छ ।

अहिले भने तोकिएकै समयभित्र ‘ब्रेक थ्रु’ गर्ने गरी तयारी गरिएको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैशीले बताए । ‘फागुनमै यसको ‘ब्रेक थ्रु’ गर्न सकिएको भए अहिले फिनिसिङको काम सुरु भइसक्थ्यो,’ उनले भने, ‘अब ‘ब्रेक थ्रु’ हुनासाथ फिनिसिङको काम थालिनेछ ।’

मुख्य सुरुङ २.६८८ किमि र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ । आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले फिनिसिङ भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ/पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारे । जसले सुरुङ खन्ने काम अघि बढ्न सकेन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच नौबुँदे सहमतिपछि चैत ६ देखि निर्माण सुरु भएको थियो । अहिले ८/८ घण्टाको सिफ्ट बनाएर सुरुङमा चौबीसै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ । ‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाएर सुरुङ निर्माण गरिएको हो । मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सातवटा द्वार निर्माण गरिएको छ । सुरुङभित्र केही भवितव्य घटना भएमा मुख्य सुरुङबाट छिटो निस्कन आपत्कालीन सुरुङ निर्माण गरिएको आयोजनाका उपआयोजना निर्देशक दुमरुले बताए ।

‘ब्रेक थ्रु’ पछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ फ्लाइओभर निर्माण धमाधम भइरहेको छ । स्थानीयले अवरोध गर्दा यो खण्डको काम पनि ठप्प बनेको थियो । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन् । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ । धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ । ‘फ्लाइओभर निर्माण र बलम्बुबाट सुरुङसम्म पुग्ने सडक कालोपत्रको काम धमाधम भइरहेको छ,’ दुमरुले भने ।

सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य नागढुंगा उकालोमा हुने ट्राफिक जामको व्यवस्थापन नै रहेको उनको भनाइ छ । मुख्य सुरुङमा दुई लेनको सडक हुनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन् । तर पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् । सीसीक्यामराबाट सुरुङमार्गको निगरानी गरिनेछ । त्यसका लागि काठमाडौंतर्फ प्राविधिक बस्नेछ । सुरुङमार्गमा सवारीसाधन चलाएबापत टोल शुल्क लिनेबारे चर्चा भइरहे पनि यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि ०८१ वैशाख १३ सम्मलाई म्याद थपिएको छ । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । कान्तिपुरबाट