राजनीति

शिक्षा मन्त्रालयद्वारा दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न परिपत्र



काठमाडौँ, ५ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध शिक्षकहरूलाई कारबाहीका लागि परिपत्र गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने निर्णय गरेसँगै मन्त्रालयले कारबाहीका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो ।

मन्त्रालयले राजनीतिक दलको सदस्यता लिएका तथा दलमा आबद्ध भएका शिक्षकहरूको अनुमानित विवरण तयार पारेर केन्द्रलाई पठाएको हो । शिक्षा मन्त्रीको सचिवालयका अनुसार कानुनी व्यवस्थाअनुसार नै दलमा आबद्ध शिक्षकमाथि अनुसन्धान गर्न र आबद्धता पाइएमा कारबाही गर्न लेखि पठाएको हो ।

शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा ‘शिक्षक वा कर्मचारी राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने’ व्यवस्था छ । त्यस्तै शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १३८ को उपनियम (१) मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।