काठमाडौँ, १७ वैशाख । ५० भन्दा बढी मुलुकका २ हजार २ सयभन्दा बढी प्रतिनिधिहरूसामु नेपालका सत्तापक्ष र प्रतिपक्ष दुवैले देशमा लगानीमैत्री वातावरण सिर्जना भएको उल्लेख गर्दै नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षक गन्तव्य भएको संयुक्त रूपमा बताएका छन् ।
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ को पहिलो दिन आइतबार उनीहरूले विश्वका विभिन्न क्षेत्रका लगानीकर्ताहरूलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण सहज रहेको उल्लेख गरेका हुन् । साथै, लगानीकर्ताहरूलाई नेपालमा आफ्नो पुँजी परिचालन गर्न पनि आह्वान गरेका छन् । विदेशी लगानीकर्तालाई सकारात्मक सन्देश प्रवाह गर्दै नेपालमा लगानी गर्न आग्रह गरिएको हो ।
उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल उदार अर्थ नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । उनले भने, ‘नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको छ ।’ दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । उनले लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको जिकिर गरे ।
हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरेको उल्लेख गर्दै दाहालले थपे, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’ यसअघि नै मन्त्रिपरिषद्ले पठाएका ती आठ संशोधित अध्यादेश कानुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए । दाहालले संघीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको उल्लेख गरे ।
‘नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट बच्ने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका धेरै प्रोत्साहनहरू प्रदान गर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेर यसको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।’ उनले प्रत्यक्ष वैदेशिक लगानीकर्ता र राष्ट्रिय लगानीकर्तालाई कुनै पनि भेदभावपूर्ण व्यवहार नगरिने प्रावधान र विदेशी मुद्रामा नाफा फिर्ता लैजान पाउने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाइने प्रस्ट पारे ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार रहेको बताए । उनले विदेशी लगानीसम्बन्धी नेपाल कानुन र नेपाल पक्ष भएका विभिन्न अन्तर्राष्ट्रिय सन्धिद्वारा सुरक्षित रहेको अवगत गराउँदै नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सरकारले विभिन्न देशसँग द्विपक्षीय लगानी संरक्षण सम्झौता गर्न इच्छुक रहेको उल्लेख गरे ।
उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र रहेको बताए । देउवाले लगानी सम्मेलनमा भएका छलफल र शिखर सम्मेलनका क्रममा आदानप्रदान हुने विभिन्न सहयोग र साझेदारीले नेपालमा थप लगानी प्रवाहका लागि मार्ग प्रशस्त हुने धारणा राखे ।
अर्थमन्त्री वर्षमान पुनले हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुने बताए । ‘व्यावसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौं,’ मन्त्री पुनले भने, ‘नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ ।’ उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवर्द्धनमा जोड दिएको उनले बताए ।
बोर्डका सीईओ सुशील भट्टले निजी क्षेत्रलाई लगानीका लागि आह्वान र लगानीमैत्री वातावरण निर्माण गर्न निरन्तर सहयोग गर्ने सबै साझेदारलाई बताए । लगानी भित्र्याउन सहज बनाउनका लागि कानुनहरू संशोधन गरिएको बताए । लगानी सम्मेलनको समापन सोमबार हुँदै छ ।
लगानी सम्मेलनको उद्घाटन क्रममा नेपालका निजी क्षेत्रका छाता संगठनहरूले अन्तर्राष्ट्रिय समुदायलाई मुलुकमा लगानीमैत्री वातावरण रहेको जानकारी दिए । उनीहरूले विश्वभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि नेपालमा सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरका लगानीकर्तालाई यहाँ लगानी गर्न आह्वान गरे । उनले मुलुकमा पुँजी र प्रविधि भित्र्याउन मात्र नभई राजस्व वृद्धि, रोजगारी सिर्जना र उत्पादन बढाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउन प्रत्यक्ष विदेशी लगानी आवश्यक रहेको औंल्याए । उनले नेपाल लगानीको नयाँ गन्तव्य बन्न सक्ने बताए । ‘नेपाल रणनीतिक अवस्थितिका कारण पनि विश्वका ठूला अर्थतन्त्र भएका चीन र भारतको बजार, पर्यटन र विकासबाट फाइदा लिन सक्नेछ,’ उनले भने ।
नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र रणनीतिक अवस्थिति भएकाले नेपालमा लगानीको दिगो प्रतिफल हासिल गर्न सकिने बताए । नेपालले पर्यटनदेखि प्रविधि, पूर्वाधार विकासदेखि नवीकरणीय ऊर्जा, शिक्षादेखि स्वास्थ्य सुरक्षासम्म लगानीका लागि सम्भाव्य क्षेत्र रहेको उनको भनाइ छ । उनले पनि नेपालमा लगानीको प्रचुर सम्भावना रहेको जिकिर गर्दै भने, ‘यो सम्मेलनबाट रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक–आर्थिक प्रगतिलाई मूर्त लगानीमा रूपान्तरण गरौं ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि सस्तो श्रमशक्ति, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले विश्वकै उत्कृष्ट गन्तव्य रहेको तर्क गरे । ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्यांक छ, श्रम लागत पनि निकै सस्तो छ,’ भने, ‘यहाँ उत्पादित वस्तुलाई विश्वका झन्डै ३ अर्ब जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ, ।’
सम्मेलनमा पहिलो मुख्य सत्र ‘नेपालमा लगानीका अवसरहरूको खोजी’ का वक्ताहरूले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र नीतिगत अप्ठ्यारो भएको खण्डमा सहज बनाइने समेत बताएका छन् । सम्मेलनमा आयोजित ‘सक्सेस स्टोरिज अफ इन्भेस्टमेन्ट इन नेपाल’ विषयक सत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ता तथा व्यवसायीहरूले नेपालमा प्रचुर सम्भावनासँगै लगानीमैत्री वातावरण रहेको बताएका थिए ।
अन्तर्राष्ट्रिय समुदायले नेपालमा लगानीको अवसर भएको उल्लेख गर्दै विश्वभरका लगानीकर्तालाई नेपालमा आउन आग्रह गरेका हुन् । भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलले भारत नेपालको विकास यात्रामा विश्वसनीय साथी रहेको बताए । सम्मेलनमा भिडियोमार्फत सम्बोधन गर्दै उनले भारतको छिमेक पहिलो नीतिमा नेपाल महत्त्वपूर्ण सदस्य रहेको उल्लेख गरे । उनले भारतले हाइड्रो र कनेक्टिभिटीमा नेपाललाई सहयोग गरिरहेको पनि बताए । उनले भने, ‘हामी लगानी र व्यापारमा मिलेर काम गर्छौं । म भारत र विश्वकै लगानीकर्तालाई नेपालमा लगानी गरेर अवसरको सदुपयोग गर्न आह्वान गर्दछु ।’ भारतका राजदूत नवीन श्रीवास्तवले नेपालमा सबैभन्दा बढी प्रत्यक्ष लगानी गर्ने मुलुक भारत भएको बताए ।
चीनको चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) का प्रमुख लुओ झाओहुईले नेपालमा लगानी गर्न चिनियाँलाई प्रेरित गर्ने बताए । भने, ‘अहिलेको भूरानीतिक चुनौतीको अवस्थामा नेपालमा विकासका लागि लगानीको आवश्यकता छ ।’ उनले २०१९ अक्टोबरमा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हिमालय वारपार कनेक्टिभिटीको सहकार्य भएको उल्लेख गर्दै नेपालीसँग ‘हातमा हात र काँधमा काँध’ मिलाएर काम गर्न चीन तयार रहेको बताए । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै भएको बताउँदै भने, ‘चीनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा सहयोग गरेको छ ।’ उनले नेपालले आर्थिक र विकासको क्षेत्रमा नयाँ यात्राको सुरुआत गर्न लागेको पनि बताए ।
यस्तै, अमेरिकी राजदूत डीन आर. थम्प्सनले नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार रहेको बताए । उनले भने, ‘अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्दै आएको छ । र, नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध छ ।’ थम्प्सनले नेपालका महिला र सीमान्तकृत समुदायहरू केन्द्रित थप परियोजनाहरूसहित सहयोग गर्न पनि अमेरिका तयार रहेको बताए । उनले अमेरिकाले वित्तीय सेवा र व्यवसाय विकास सेवाहरूमा नेपालको निजी क्षेत्रको पहुँच र व्यापारिक वातावरणमा सुधार, बलियो र अधिक उत्पादनशील कृषि क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपालको उच्च प्रविधि क्षेत्रको विकास गर्न मद्दत गरिरहेको बताए ।
अमेरिकाका दक्षिण तथा मध्य एसिया क्षेत्रका सहायक विदेशमन्त्री डोनाल्ड लुले भिडियोमार्फत सम्बोधन गर्दै नेपाललाई सन् २०२६ बाट कम विकसित मुलुकबाट माथि उक्लनका लागि सहयोग गर्ने उल्लेख गरे । त्यसैगरी भिडियोमार्फत नै सम्बोधन गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी परियोजनाअन्तर्गत स्वच्छ ऊर्जा र यातायात तथा सडक पूर्वाधारमा काम भइरहेको बताइन् । यस्तै, अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रशासक सामन्था पावरले पनि भिडियोमार्फत सम्बोधन गर्दै नेपालका विभिन्न क्षेत्र लगानीका लागि महत्त्वपूर्ण स्थान भएको चर्चा गरिन् ।
यसैगरी बेलायत फरेन, कमनबेल्थ एन्ड डेभलपमेन्ट अफिसका क्षेत्रीय निर्देशक बेन मेलोरले नेपाल सरकारले कानुन र अध्यादेशद्वारा महत्त्वपूर्ण आर्थिक सुधार लागू गरेको उल्लेख गर्दै यसले नेपालमा लगानी गर्न सजिलो बनाउने बताए । उनले भने, ‘म यी प्रयासहरूको प्रशंसा गर्दछु र नेपाललाई आवश्यक लगानी सुरक्षित र सुनिश्चित गर्न द्रुत कार्यान्वयनलाई प्रोत्साहन गर्दछु ।’ उनले ‘बालबालिकालाई देशमा राख्न’ र नेपालको कम विकसित मुलुकबाट (एलडीसी) स्थितिबाट सुधार गर्न आवश्यक पर्ने विषयमा विकास र रोजगारी सिर्जना गर्न निजी क्षेत्रले मात्रै सक्ने पनि बताइन् । उनले लगानी सम्मेलनले स्वदेशी तथा विदेशी प्रत्यक्ष लगानी जुटाउने, पूर्वाधारको स्तरोन्नति गर्ने, जलविद्युत्को उपयोग गर्ने, ठूला व्यवसाय विस्तार गर्ने र साना तथा मझौला उद्योगहरू पनि फस्टाउन सक्ने बजार निर्माण गर्न आफूहरूलाई बाटोमा डोर्याएको पनि प्रस्ट पारे ।
बेलायती विकास मन्त्रीद्वय एन्ड्र्यु मिचेल र भाने मरिई ट्रेभेल्यनले पनि भिडियामार्फत सम्बोधन गर्दै नेपालमा लगानीका लागि जोड दिँदै बेलायतबाट आवश्यक सहयोग हुने प्रस्ट पारे ।
यस्तै, नेपालमा संयुक्त राष्ट्रसंघीय (यूएन) आवासीय संयोजक हाना सिंगर हम्दी नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै विश्व पनि नेपाली जनताको साथमा हुनुपर्ने बताइन् । उनले सन् २०२६ मा नेपालले कम विकसित मुलुकबाट स्तरोन्नतिको तयारी गरिरहेको अवस्थामा यूएन लगानी बोर्ड नेपाल र सम्बन्धित मन्त्रालयहरूसँग दिगो लगानीको प्रवाह बढाउन मद्दत गरिरहने बताइन् । उनले भनिन्, ‘हामी दिगो, समावेशी र हरित अर्थतन्त्रको दृष्टिसहित बलियो व्यावसायिक अर्थतन्त्रको विकासलाई समर्थन गर्न जारी राख्नेछौं ।’
९१ अर्ब बराबरका १२ परियोजनामा लगानी आशय माग
लगानी बोर्डका अनुसार सम्मेलनमा ९१ अर्ब रुपैयाँ बराबरका १२ वटा परियोजनामा लगानीको आशय पत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) माग गरिएको छ । सम्मेलनमा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र परियोजना, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग परियोजना, जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजना, धुलिखेल मेडिसिटी परियोजनामा आशयपत्र माग गरिएको हो ।
बोर्डका अनुसार सुदूर पश्चिम सार्वजनिक यातायात परियोजना, बबरमहल प्रशासनिक प्लाजा परियोजना, दैजी औद्योगिक क्षेत्र विकास र गौतम बुद्ध मेर्टानिटी हस्पिटलमा समेत आशयपत्र माग गरिएको छ । २८१.०४ मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय जलविद्युत् परियोजना, ६५० मेगावाट क्षमताको कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् परियोजना, १२१६ मेगावाट क्षमताको खिम्ती ठोसे जलाशययुक्त जलविद्युत् परियोजना र ३३७.१ मेगावाट क्षमताको भारभुंग जलाशययुक्त जलविद्युत् परियोजनामा आशयपत्र माग गरिएको छ । स्वदेशी तथा विदेशी लगानीकर्ता तथा व्यवसायीले आगामी जुन २ सम्म आशय व्यक्त गर्नुपर्नेछ ।
तेस्रो लगानी सम्मेलनमा १५० भन्दा बढी परियोजना राखिएको छ । सम्मेलनमा स्वदेशी र विदेशी गरी २२ सयभन्दा बढीको सहभागिता रहेको बोर्डका प्रवक्ता प्रद्युमन उपाध्यायले बताए । पहिलो लगानी सम्मेलन–२०१७ मा साढे १४ खर्ब लगानीको आशय व्यक्त गरिएकामा ३ खर्ब ३५ करोड ४७ लाख भित्रिएको थियो । दोस्रो लगानी सम्मेलन–२०१९ मा १७ खर्ब रुपैयाँ प्रतिबद्धता गरिएकामा १ अर्ब १८ करोड रुपैयाँ भित्रिएको छ भने ९० अर्ब रुपैयाँ बराबरका आयोजना कार्यान्वयनमा छ ।
सम्मेलनमा दुई वटा समझदारी
सम्मेलनमा डाटा सेन्टर निर्माण तथा सञ्चालनका लागि चौधरी ग्रुपको बीएलसी होल्डिङ्स र योट्टा डाटा सर्भिसेस् भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बीएलसी होल्डिङ्सका प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । नेपालमा विश्वस्तको डाटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म निर्माणका लागि समझदारी भएको छ । सम्मेलनमै नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न समझदारी भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ मलेसियका अध्यक्ष टान स्री दातो सो थियान लाईले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
आशयपत्र माग गरिएका परियोजना
- धुलिखेल मेडिसिटी अस्पताल
- दैजी औद्योगिक क्षेत्र विकास
- गौतम बुद्ध मेर्टानिटी हस्पिटल
- बबरमहल प्रशासनिक प्लाजा
- सुदूरपश्चिम सार्वजनिक यातायात
- चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग
- जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज
- पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र
- २८१.०४ मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत्
- १२१६ मेगावाटको खिम्ती ठोसे जलाशययुक्त जलविद्युत्
- ३३७.१ मेगावाटको भारभुंग जलाशययुक्त जलविद्युत्
- ६५० मेगावाटको कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत्
कान्तिपुरबाट
प्रतिक्रिया दिनुहोस्