Banner News

देशको राजनीति गलत दिशामा नजाओस् भन्ने कुरामा सजग छौँ : माधव नेपाल 



काठमाडौँ, १७ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आफूहरूको भूमिका रहने बताएका छन् ।

आज काठमाडौँमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ‘घुम्तीमा दुर्घटना नरोस् भन्नेमा आफूहरू सचेत’ रहेको बताए ।

“देशको राजनीति गलत दिशामा नजाओस् भन्ने कुरामा हामी सजग छौँ । सही दिशातर्फ अघि बढेस् भन्ने पक्षमा छौँ । कताबाट बाटो घुम्छ विचार गरिरहेका छौँ,” उनले भने, “घुम्ती बाटोमा हिँड्दा दुर्घटनामा नपरोस् भन्नेमा विचार गरिरहेका छौँ ।”


उनले सरकारका घटकलाई सन्तुलन गरेर अघि बढ्ने विषयमा ध्यान दिनुपर्ने बताए । “प्रत्येक पार्टीको मर्यादा, स्वाभिमान हुन्छ । सन्तुलनका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । हामीले उचित व्यवस्थापन चाहेका छौँ,” नेता नेपालले भने ।

उनले आफ्ना पार्टीका नेता सरकारमा गए राम्रो काम गरेर देखाउन सक्ने जिकिर गरे । सत्ता, निर्वाचनमा मात्र नभएर विकासमा पार्टीको ध्यान रहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले आफू प्रधानमन्त्री बन्ने हो कि भनेर अरू व्यक्तिहरूलाई पोल्न थालेको टिप्पणी गरे । “हामी प्रधानमन्त्री बन्छौँ कि भनेर कतिपयलाई पोल्न थालेको छ,” उनले भने, “तिनीहरूलाई पोले पोलोस् । दनदनी आगोले पोलोस् । त्यस्ता प्रवृत्ति बोक्नेलाई धिक्कार भन्नुपर्छ !”