राजनीति

सिधाकुरा डटकमविरुद्ध अर्को अवहेलना मुद्दा दर्ता



काठमाडौँ, २३ वैशाख । अदालतको अवहेलना गरेको आरोपमा सिधाकुरा डटकम विरुद्ध अदालतको अवहेलना सम्बन्धी अर्को मुद्दा पनि परेको छ ।

अधिवक्ता अनुपम भट्टराईले सिधाकुरा डटकमका सञ्चालक र कार्यकारी सम्पादकलाई अदालतको अवहेलनामा कारवाही हुनुपर्ने माग राखी  सर्वोच्च अदालतमा निवेदन पेश गरेका हुन् ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनासम्बन्धी प्रतिवेदन पेश गर्नुअघि नै आफूले निवेदन दिएको तर बिहीबार मात्रै दर्ता भएको जानकारी पाएको अधिवक्ता भट्टराईले बताए ।

उपरजिस्ट्रार घिमिरेले पेश गरेको प्रतिवेदनको आधारमा सर्वोच्च अदालतले सिधाकुरा डटकमलाई स्टिङ अपरेशनको मुद्दा हारजित गराउन सर्वोच्चका न्यायाधीशसहित छलफल भएको भनी लेखेको समाचार हटाउन आदेश दिएको थियो । साथै त्यस विषयमा पुन: समाचार नलेख्न पनि आदेश दिएको थियो ।