राजनीति

जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार



काठमाडौँ, ९ जेठ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ ।

केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिको तयार गरेको हो । केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ ।

जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दावी बिरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने छ । त्यसैदिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ  ।

उम्मेदवारको नामावली नेपाली वर्णाणुक्रमअनुसार प्रकाशित बेलुकी ५ बजेसम्म र ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने कार्य हुने छ । जेठ २९ गते राति ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ । केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको लागि मतगणणा एकैपटक हुनेछ ।