शैक्षिक

अछाम पत्रकार महाँसंघको कार्यशैली प्रति प्रेस चौतारीको विरोध



कल्पना बोहरा

अछाम १ फागुन । प्रेस चौतारी अछामको बैठकले पत्रकार महासंघ अछामले सदस्यता सिफारिस र नविकरणमा गरेको नियमविपरित कार्यको भण्डाफोर गर्ने निर्णय गरेको छ ।

महासंघले अछाम जिल्लाबाट पत्रकार महासंघको सदस्यता नविकरण र नयाँ सिफारिस गर्दा कुनै पनि सञ्चारमाध्ययमा आवद्ध नरहेका व्यक्तिलाई समेत सिफारिस र नविकरण गरेकाले त्यसको छानबिनको माग गर्दै तत्काल सदस्यता शुद्धीकरण गर्नुपर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले कुनै पनि सञ्चारमाध्यममा आवद्ध नरहेका व्यक्तिलाई सदस्यता दिएको भन्दै यस्तो कार्य पत्रकार महासंघको मर्यादा र गरिमा विपरित कार्य भएकाले त्यसको सशक्त विरोध र भण्डाफोर गर्ने निर्णय गरेको बताएको छ ।

एउटै घरका ३र४ जना सदस्यसमेत महासंघको सदस्यमा सिफारिस भएको भन्दै महासंघ जस्तो गरिमामय संस्थालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै प्रेस चौतारी अछाम आक्रोशित बनेको छ ।

गैरपत्रकारहरुलाई सदस्यता दिने कार्य महासंघको विधिविधान विपरित भएको ठहर प्रैस चौतारी अछामले गरेको छ । बैठकले ३ जना सदस्यलाई मनोनित समेत गरेको छ । जसमा ललित केसी, विष्णुप्रसाद भण्डारी र एकेन्द्र महता रहेका छन् ।

बैठकमा एमाले जिल्ला सचिवालय सदस्य प्रकाश शाह, जिल्ला कमिटी सदस्य नमराज न्यौपाने, पत्रकार महासंघका सचिव शिवराज ढुंगाना, प्रेस चौतारीका प्रदेश सदस्य पुष्पराज भट्ट, प्रेस चौतारीका पूर्व उपाध्यक्ष नरेशकुमार शाही, रेडियो रामारोशनका लेखा संयोजक कृष्णबहादुर बुढा, रेडियो जनप्रियका प्रबन्ध निर्देशक बमबहादुर रावल, रेडियो सोसाईटीका प्रबन्ध निर्देशक ध्रुव बिसी, प्रेस चौतारीका ललित बुढालगायतको सहभागिता रहेको थियो ।