अर्थ

आर्थिक वृद्धिदर ५.८९ प्रतिशत : प्रतिव्यक्ति आय १ हजार डलर नाघ्यो



बैशाख १२, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने भएसँगै आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

बुधवार तथ्यांक सार्वजनिक गर्दै विभागले प्रति ब्यक्ति वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्बजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।

मध्यावधि समीक्षामा त्यसलाई घटाएर ६ प्रतिशतमा झारिएको थियो । विभागले भने ५.८९ प्रतिशतमात्र हुने विवरण सार्वजनिक गरेको छ । यसअघि अर्थमन्त्रालयले आर्थिक वृद्धि ६ प्रतिशत हाराहारी पुर्यािइदिन विभागलाई दवाव दिएको समाचार सार्वजनिक भएको थियो ।

एसियाली विकास बैंकले आर्थिक वृद्धि ४.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको थियो भने विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने जनाएको थियो । विभागले गत आर्थिक वर्षको वृद्धि दर ७.३९ प्रतिशत पुगेको जनाएको छ । यसअघि उसले ६.९ प्रतिशत पुगेको जनाएको थियो ।

यसपाली कृषिको वृद्धिदर २.८२ प्रतिशत र गैरकृषिको वृद्धिदर ७.१ प्रतिशतले बढेको छ । अब अर्थतन्त्रको कारण ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । धान र दलहन बालीको उत्पादन कम हुँदा आर्थिक वृद्धिमा असर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विद्युत र पानीजन्य क्षेत्र पनि कमजोर रहेको विभागले जनाएको छ ।