राजनीति

उपराष्ट्रपति पुन र बेलायती मोरिसबीच शिष्टाचार भेटवार्ता



काठमाडौँ, २४  बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपति पुनसँग बेलायतका राजदूत मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन ।

भेटवार्ताको क्रममा उपराष्ट्रपति पुनले नेपाल र बेलायतबीचको सम्बन्ध धेरै पूरानो र जनस्तरसम्म फैलिएको बताएका छन । दुई देशबीचको औपचारिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगेको छ ।

विशिष्ट प्रकारको हाम्रो सम्बन्ध अहिले जनस्तरसम्म फैलिएर प्रगाढ बनेको बताउदै उपराष्ट्रपति पुनले भने, ‘आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकहरुको ठूलो योगदान छ । गोरखा सैनिकका लागि बेलायत सरकारले हालै सार्वजनिक गरेको सुविधा प्याकेज स्वागत योग्य छ ।, ‘गोरखा सैनिकका बाँकी उचित मागहरु संबोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने हाम्रो विश्वास छ ।’

भेटवार्ताको क्रममा बेलायती राजदूत मोरिसले नेपाल बेलायतको घनिष्ठ मित्र राष्ट्र भएको बताउदै भने, ‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि सहयोग गर्न बेलायत सधै तयार रहेको र यसका लागि बेलायती युवा व्यवसायीहरुले नेपालमा लगानी गर्न चाहिरहेको उल्लेख गरेका छन ।

राजदूत मोरिसले बेलायतका लागि गोरखा सैनिकले पु¥याएको योगदानप्रति बेलायत सरकार नतमस्तक भएको बताए साथै उनले गोरखा सैनिकका लागि बेलायतले विशेष प्याकेज ल्याएको उल्लेख गर्दै  गोरखा सैनिकका धेरै समस्या समाधान भएको बताए ।