राजनीति

आगामी वर्ष युवा परिचालनको वर्ष : मन्त्री खतिवडा



काठमाडौँ, २७ बैशाख । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष युवा परिचालनको वर्ष हुने बताएका छन ।

शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै मन्त्री खतिवडाले आगामी बर्षलाई युवा परिचालनको वर्षको रुपमा लिइने र सोही अनुसार युवा लक्षित कार्यक्तमहरुलाई प्राथमिकतामा राखिने बताएका छन् ।

सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी बजेट तुर्जुमा गरिने र जलवायु परिवर्तनको अनुकुलनमा पनि जोड दिइने साथै दुई वर्ष भित्र साक्षर नेपाल बनाउने, सुरक्षित बस्ती विकास तथा आवास निमार्ण र वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्नेगरी बजेट विनियोजन गरिने बताएका छन् ।

त्यस्तै आगामी वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने साथै रेलमार्ग, जलमार्गलाई, सडकमार्ग लगायतका विकास पुर्वाधारलाई प्राथमितामा राखिने बताए ।

विकासका लागि अनुकुल वातावरण समेत बन्दै गएको भन्दै उनले २०३० सम्म मध्यम आय भएको देश बन्ने गरि बजेट विनियोजन गरिने बताउदै उनले भने,  ‘आन्तरिक तथा बाहृय लगानीको अवसरका लागि वातावरण बनेको छ । २०३० भित्र मध्यम आय भएको देशमा पुग्ने हाम्रो लक्ष्य अनुसार बजेट विनियोजन गरिनेछ ।’

मन्त्री खतिवाडाले एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने गरी कार्यक्रममा बजेट छुट्याउने  बताउदै उनले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको आधारशिला निमार्ण भएको छ । आगामी वर्ष समाजिक न्यायसहितको विकासको अधार वर्षका रुपमा रहने गरी बजेट विनियोजन गरिनेछ ।’