राजनीति

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई अब काठमाडौँमा पनि भवन दिइने



काठमाडौँ, ७ असार । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । काम विशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरुले अब काठमाडौँमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् ।

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ । ललितपुरको सैँबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरुका लागि कोलोनी तयार हुने विभागले जनाएको छ ।

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइने छ। प्रत्येक ब्लकमा दुईवटा भवन हुने छ । प्रदेशका प्रमुख र मुख्यमन्त्री काठमाडौँ आइरहने भएकाले स्थायी आवास चाहिएको सहरी विकासमन्त्री मोहम्मद इन्तियाक राईले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।