Banner News

सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई छाडिँदैन : मन्त्री पोखरेल



काठमाडौँ, ४ भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई पनि नछाडिने बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं ५ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले काठमाडौँमा अधिकांश खाली ठाउँ मासिनु दुःखद् पक्ष भएको बताउँदै भन्नुभयो, “सार्वजनिक जग्गा मास्ने नेकपाकै नेता कार्यकर्तालाई पनि हामी जोगाउँदैनौँ, त्यस्ता व्यक्तिलाई पार्टीले कारवाही गर्छ ।”

उपप्रधानमन्त्री पोखरेलले सरुवा र बढुवाका काम लिएर आफूसँग नआउन आग्रह गर्दै विकास निर्माणका कामका लागि आफू जति बेला पनि तयार रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिले पार्टीसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने भन्दै छिटो, छरितो र प्रभावकारी सेवा प्रदानमा ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले कानूनको अभावमा सङ्घ, प्रदेश र स्थानीय सरकारको काम, कर्तव्य र अधिकारको क्षेत्रमा अलमल देखिए पनि कानूनले पूर्णता पाएपछि छिट्टै समस्या हट्ने दावी गर्नुभयो । विकास निर्माणमा बाधक बनेको सार्वजनिक खरीद ऐनलाई बदल्न लागिएको भन्दै उहाँले ऐन संशोधन गरेपछि विकास निर्माणका काममा हुने गरेका अवरोध हट्ने विश्वास दिलाउभयो ।