विचार/ब्लग

अलौकिक र पवित्र धर्मस्थल: चैनपूरको वालेश्वर गुफा र सिद्दकाली मन्दिर



तेजबहादुर ढकाल, काठमाडौँ

संखुवासभा जिल्लाको चैनपुर (पौराणिक कालको हिमालय अधिराज्यको चन्द्रपूर)मा अवस्थित बालेश्वर गुफा भित्रको प्राकृतिक शिवलिङ्ग बिश्व कै ठूलो र अलौकिक मानिन्छ । यो गुफा र शिवलिङ्गको उत्पत्ति र महत्वका बारेमा पौराणिक तथ्यको थप अध्ययन र अनुसंधान गर्नु जरुरी छ ।

श्री स्कन्द पुराण केदारखण्डको श्री स्वस्थानी ब्रतकथाको सातौं अध्यायमा सतिदेवीले पिता दक्षप्रजापतिको यज्ञ कुण्डमा आत्मदाह गरिसकेपछि भावबिव्हल भएका महादेवले सतिदेवीको शरिर बोकेर भौतारिने क्रममा चन्द्रपूरमा पुगे पछि सती देवीको दक्षीण वा दाहिने नेत्र पतन भएको र जसमा चन्द्रपीठ, सीद्देश्वरी देवी, सिद्धा योगिनी र प्रकशेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वोरुपले रहे भनि बर्णन गरियेको छ । त्यस पुन्यभुमिमा अष्टवसु आएर तपस्या गरि बरदान पाएको भनि उल्लेख गरिएको छ ।

श्री स्वस्थानी ब्रतकथा कै कुनै प्रकाशनमा दश दिक्पाल आएर तपस्या गरि यो धरतिको रक्षा गर्ने बरदान प्राप्त गरेको पनि भनिएको छ । दश दिक्पालहरुमा अष्टबसुका आठ जनामा उत्तरका इन्द्र र दक्षीणका यमलाई थप गरि दश दिसाका रक्षक देवताहरूलाई समाबेश गरिएको छ । यसरि हेर्दा पौराणिककालको स्वर्ग र नर्क पनी यही धर्ती मै रहेको अनुमान लगाऊन सकिन्छ । अष्टबसुलाई पृथ्बीका पालन गर्ने देबता मानिन्छ जसमा वरुण, वायु, अग्नी लगायतका देवताहरू पर्दछन् ।

बास्तुशस्त्रमा यिनै देबताहरुको बासस्थान वा दिशालाई आधार मानिन्छ । यसरि धर्मिक तथा पौराणिक दृष्टिले यो ठाऊँको अलैकिक महत्व रहेको छ । यो धर्तिमा कुनै भुकम्प, बाढी पहिरो, आगालागी, खडेरी, महामारी जस्ता महाबिपत्तिहरु आउँदा यस स्थानमा गई शिवशक्तीको उपासना गरि दश दिक्पालहरुलाई प्राथना गरेमा त्यसबाट बिश्वले नै उन्मुक्ती पाऊने बारेमा शास्त्रमा उल्लेख गरिएको छ ।

अहिले विश्वभरीका मानवजातिहरू महामारीको चपेटामा परेकाले शिवशक्तीको उपासना गरि दश दिक्पालहरुलाई प्राथना गर्नु उपयुक्त हुन्छ । साथै उक्त स्थानमा कालन्तरमा केही तलबाट स्थानान्तरण गरी स्थापित सिद्दकाली भगवती र प्रकाशेश्वर महादेवको मन्दिर मा गई पूजा आरधाना गरे संटक दूर हुने र मनोबान्छित वरदान पाईने विश्वास गरिन्छ ।

यी माथिका तथ्यहरूका अधारमा यो गुफा र शिवलिङ्गको बिश्लेशण गर्दा कतै उनै प्रकाशेश्वर महादेव नै त होइनन भनी तर्क गर्न सकिने केहि अधारहरु पनी छन । यो गुफा र शिवलिङ्गमा सीधै प्रकाश जानु र शिवलिङ्गमा पनी शिवशक्तिको आकृति आउनु आदिले यो तर्क गर्ने र थप अनुसंधान गर्ने आधार प्रदान गरेको छ । यस तर्फ थप अध्यन र अनुसंधान गरी प्रचार प्रसार गर्न सके एकै बर्षमा दशौं लाख धार्मिक पर्यटक तथा दर्शालु भक्तजनहरूलाई आमन्त्रण गर्न सकिन्छ । यस तर्फ सम्बन्धित निकायहरूको ध्यान जानु जरूरी छ । ओम नमो शिवाय १ ओम नमो भगवताय नम !! आरध्यदेव श्री महादेव र देवी भवानीले हामी सबैको रक्षा गरुन ।