राजनीति

किर्ते गरी जग्गा पास, ४ किल्ला प्रमाणित गर्न वडाध्यक्षको किर्ते हस्ताक्षर



काठमाडौँ, ११ चैत । रूपन्देहीको मायादेवी गाउँपालिका– २ का परशुराम अहिर जन्मजात बौद्धिक अपाङ्ग छन् । अहिरका हजुरबुवा मंगरुका चार भाइ छोराहरू अल्गु, तिरथ, काशी र भोला यादव हुन् । तिरथका छोरा परशुराम हुन् ।

उनी सानै छँदा बुवाआमाको मृत्यु भयो । तीन भाइले पुख्र्यौली सम्पत्ति अंशबन्डा गरे । तर, परशुरामलाई दिएनन् । २०४९ मा परशुरामले काकाहरूसँग अंश दाबी गरे । त्यसबेला कान्छा काका भोला यादवले परशुराम अंशियार नभएको अडान लिएका थिए । त्यसपछि दिदी र अन्य काकाहरूको सहयोगमा परशुरामले जिल्ला अदालत रूपन्देहीमा अंश मुद्दा दायर गरे । अदालतले २०५५ मा उनको पक्षमा फैसला गरेपछि बराबरी अंश पाए। जन्मजात बौद्धिक अपांग भएकाले उनी सानैदेखि दिदी बोधी यादवकोमा बसेका थिए । गत माघ १ गते काका भोलाका जेठो छोरा राजेन्द्रले बुवा बिरामी भएको बहानामा परशुरामलाई आफ्नो घर लिएर गए ।

सोही बहानामा जालझेल गरी किर्ते कागजात बनाएर उनको नाममा सियारी गाउँपालिका–२ र ३ मा रहेको १७ कठ्ठा १० धुर जग्गा अन्यको नाममा पास गराइएको परशुरामका आफन्त राजकुमार यादव बताउँछन् । १७ कठ्ठा १० धुरमध्ये १३ कठ्ठा ७ धुर भोलाका कान्छा छोरा जोगिन्द्रको नाममा पास भएको राजकुमारको दाबी छ । त्यसैगरी ४ कठ्ठा ३ धुर स्थानीय जग्गा व्यापारी ढालबहादुर चौधरीका छोरा चूडामणि चौधरीको नाममा माघ २२ गते पास भएको बताइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।