अर्थ

अर्थ मन्त्रालयले औंल्यायो लक्ष्यअनुसार खर्च हुन नसक्नुका ३ कारण



काठमाडौँ, १५ असोज । अर्थ मन्त्रालयले लक्ष्यअनुसार खर्च हुन नसक्नुका मुख्य तीन कारण औंल्याएको छ ।

मन्त्रालयले वित्तीय अनुशासन, विनियोजन दक्षता र कार्यान्वयन क्षमता कमजोर हुँदा लक्ष्यअनुसार सार्वजनिक खर्च हुन नसकेको औंल्याएको हो । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक इकोनोमिक बुलेटिनले बजेटको ठूलो हिस्सा खर्च नहुने समस्या औंल्याएको हो । विनियोजित बजेटको ठूलो हिस्सा खर्च हुन नसक्दा पुँजी निर्माणको दर न्यून हुन गई आय, बचत, उत्पादन तथा रोजगारी वृद्धिदरमा समेत अपेक्षित उपलब्धि हासिल हुन कठिन भएको मन्त्रालयले उल्लेख गरेको छ  ।

पछिल्लो १० वर्षको औसत सरकारी खर्च विनियोजित बजेटको ८२ दशमलव ३ प्रतिशत रहेकोमा पुँजीगत खर्च भने विनियोजित बजेटको ६८ दशमलव ९ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्न वित्त अनुशासन, विनियोजन दक्षता र कार्यान्वयन दक्षतामा सुधार गर्नुपर्ने भन्दै मन्त्रालयले खर्च गर्ने क्षमतासमेतलाई मध्यनजर गरी बजेटको आकार तय गर्नुपर्ने उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा संघीय चालू खर्च कुल विनियोजनको ९० दशमलव ३ प्रतिशत मात्र भएको छ । तर पनि, कुल संघीय सरकारी खर्च आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ९ दशमलव ८ प्रतिशलते बढेर १२ खर्ब ९६ अर्ब २४ करोड पुगेको मन्त्रालयले उल्लेख गरेको छ । यस अवधिमा चालू खर्च १२ दशमलव ९ प्रतिशतले बढेको छ भने पुँजीगत खर्च ५ दशमलव २ प्रतिशतले घटेको छ । त्यसैगरी, वित्तीय व्यवस्थापनतर्फको खर्च १७ दशमलव ३ प्रतिशतले बढेको छ । सार्वजनिक खर्चमा वृद्धि हुँदै गएको भएपनि विनियोजित बजेटको ठूलो हिस्सा खर्च नहुने समस्या रहेको मन्त्रालयले उल्लेख गरेको छ ।