मनोरञ्जन

‘बेहुली फ्रम मेघौली’ र एक्सन फिल्म बनाउने निश्चलको घोषणा



काठमाडौँ, ४ माघ । फिल्म निर्देशक निश्चल बस्नेत बिहीवार ४३ वर्ष मनाउँदैछन् । जन्मदिन अवसरमा उनले आफ्नो ब्यानर ब्ल्याक हर्स पिक्चर्सका दुई फिल्मको घोषणा गरेका छन् । जसअनुसार फागुनदेखि चैतभित्र छायांकन सकिने गरि ‘बेहुली फ्रम मेघौली’ निर्माण हुने भएको छ ।

यो फिल्मलाई आकाश बरालले निर्देशन र स्वस्तिमा खड्काले निर्माण गर्नेछन् । ब्यानर निश्चलकै ब्ल्याक हर्स पिक्चर्स हुनेछ । त्यसपछि आगामी दशैं छेकोबाट आफ्नै ब्यानरमा नयाँ एक्सन फिल्म थाल्ने उनको भनाई छ । ‘दशैंबाट यो एक्सन फिल्म सुटिङमा जान्छ’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अब स्क्रिप्टमा काम गर्छु ।’

जन्मदिनको अवसरमा उनले फेसबुकमार्फत केही संकल्प पनि व्यक्त गरेका छन् । ‘काम राम्रो गर्नु, कोसिस धेरै गर्नु, भलो चिताउनेलाई सँधै अँगाल्नु, खेदो मात्र खन्नेलाई कामले देखाइदिनू…फर्काएर । परिवारलाई माया गर्नु, शुभचिन्तकलाई दुःखी नबनाउनु, साथीहरु नजिक भएपनि टाढा भएपनि साथी हुनु, सुखमा संगै नभएपनि दुख पर्दा साथ निभाउनु’ लेखेका छन् ।