राजनीति

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल



काठमाडौँ, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताएका छन् ।

गोरखा भूकम्पको नवौँ स्मृति दिवसमा आज एक सन्देश जारी गर्दै उनले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी प्रभावकारी जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् । उनले जोखिमको प्रभावकारी न्यूनीकरण गर्नुपर्नेमा समेत जोड दिए । पौडेलले भूकम्प जस्तो प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिएर पूर्व तयारी र चुस्त व्यवस्थापन बनाउनुपर्नेमा जोड दिएका छन् । 

प्राकृतिक विपद् र उच्च भूकम्पीय जोखिममा नेपाल रहेको स्मरण गराउँदै उनले बढ्दो सहरीकरणका कारण भूकम्पको जोखिम बढ्दै गएको बताएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, ‘भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ ।’