विचार/ब्लग

प्रधानमन्त्रीलाई अचानक फुरेको राष्ट्रिय सहमतिको गीत



उपेन्द्र केसी

काँग्रेस पार्टीले गर्ने हरेक निर्णयले देशको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा दुई मत छैन । त्यसैले पनि काँग्रेस पार्टीले गर्ने हरेक प्रकारका निर्णयमा सिङ्गो राष्ट्रले चासो राख्नु स्वाभाविक हो । आज काँग्रेस पार्टीको मुखमा आएको सत्ता सुखभोग एकाएक खोसिएको छ । काँग्रेस पार्टीका सभापति एव तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो लागि मात्रै सोच्दा काँग्रेसको हातमा आएको सत्ता खोसिएको हो । देउवाले फेरी पनि अर्थात् छिटौँ पटक प्रधानमन्त्री हुने लालसा नराखेको भए अहिले पनि काँग्रेसको हातबाट सत्ता टाढा जाने थिएन । तर, देउवाले फेरी पनि प्रधानमन्त्री हुन देखाएको अस्वाभाविक बाल हठका कारण हेर्दा –हेर्दै देउवाको आँखाबाट राज्यसत्ता दूर भयो ।

काँग्रेसले सत्ता गुमाउनुपरेपछि सबैले सोचेका थिए, अब काँग्रेसले सशक्त रूपमा प्रतिपक्षको भूमिका खेल्ने छ । प्रतिपक्षमा बसेर जनताको आवाज बोल्ने छ । सरकारका हरेक नराम्रो कामको भण्डाफोर गर्ने छ र देशमा आम मानिसले थेग्नै नसक्ने गरी बढ्दै गएको मंहगीको विरोधमा कुरा उठाउने छ । आर्थिक रूपले कमजोर बन्दै गएको देशको अर्थतन्त्र जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ । लोकतान्त्रिक मूल्य, मान्यताको ट्र्याक राष्ट्रलाई हिँडाउन हरपल हर क्षण सरकारलाई खबरदारी गर्ने छ भन्ने सोचिएको थियो । तर, यी सबै कुराबाट काँग्रेसपछि हटेर उल्टै सरकारलाई विश्वासको मत दिएर समर्थन गर्ने पुग्यो । यसले काँग्रेसमा अर्थात् सभापति देउवा अझै पनि सत्ता मोहको ह्याङ हटेको छैन, भन्ने कुरालाई पुष्टि गरिदिएको छ ।

सर्बलाई थाह छ, सरकारलाई समर्थन गर्ने कुरामा काँग्रेसमा एक मत थिएन । काँग्रेस भित्रैबाट त्यसो नगर्न आवाज उठ्दा पनि देउवाले त्यसलाई पुरै बेवास्ता गरे । सरकार निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पर्याप्त बहुमत थियो । सरकार टिकाउनका लागि उनलाई देउवाको साथ र सहयोग आवश्यक थिएन , तैपनि देउवाले विश्वासको मत दिए । यसको अर्थ देउवाले अझै पनि प्रचण्डको आफ्नो पार्टी काँग्रेसलाई साथ र सहयोग चाहिने आवश्यकता महसुस गरे, त्यही कारण उनले विश्वासको मत दिए र देउवाले अबका दिनमा काँग्रेस पार्टी केही र कतै पनि एक्लै उभिनै नसक्ने अवस्थामा पुगेको देखाइदिए । माओवादीको टेको विना काँग्रेस अधुरो रहने सन्देश प्रवाह गरे र, सत्ता विना काँग्रेस रहनै सक्दैन, भन्ने भनाइलाई फेरी एक पटक देउवाले व्यवहारमा देखाइदिए ।

यो अवस्थामा प्रचण्डको नेतृत्वमा निर्माणमा भएको सरकारलाई यो वा त्यो कारणले समर्थन गर्नु भनेको देउवामा हट्न नसकेको सत्ता मोह बाहेक केही होइन । जसरी हुन्छ सत्ता प्राप्त गर्नुपर्छ, त्यसका लागि पार्टी सङ्गठनको छविमा जस्तोसुकै आँच आए पनि त्यसको देउवाले वास्ता गरेको देखिएन । देउवाले यो अवस्थामा सरकारलाई समर्थन गर्दा काँग्रेस पार्टीका समर्थकहरूले के भन्लान् भन्ने पनि सोचेनन् । सिङ्गो कांग्रेसीजनको आत्मासम्मानमा चोट पुर्‍याउने गरी देउवाले गरेको यो हर्कतको उनले आउँदा दिनमा पार्टीमा ढिलो चाँडो जवाफ दिनु पर्ला नै ।

राष्ट्रपति र प्रधानमन्त्री पद दुबैमा काँग्रेसले आँखा गाडेको थियो । दुवै पद काँग्रेसले आफै राख्न खोजेकै कारण गठबन्धन टुटेको हो । अन्तिम समयसम्म पनि प्रचण्डलाई अलमलाएर दुवै पद काँग्रेस आफैले पार्ने रणनीति अन्तिम अवस्थामा आएर फेल भएपछि काँग्रेसमा सत्ता पिडाको छट्टपट्टि बढेको छ । आफ्नै कारणले सत्ता गुमाउनुपरेपछि अहिले काँग्रेस जसरी भए पनि एमाले–माओवादी बीचको समीकरण भत्काउन लागि परेको छ । सो गठबन्धन भत्काउने सोचका साथ नै काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कतै छिपेको छैन । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा संवैधानिक अङ्गको कुनै पद माग्ने र सोही सिराबाट अहिले बनेको गठबन्धन भत्काउने देउवाको रणनीति रहेको देखिएको छ ।

कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफै हत्याउने दाउमा थियो । उसले दुबै पदमा आँखा गाडेकै कारण सत्ताबाट हात धोएको हो । अहिले सत्ता चिप्लिए पछि उसले एकाएक उठाएको राष्ट्रिय सहमतिको कुरा आममानिसलाई उल्लु बनाउने सोच मात्रै हो । उता, प्रधानमन्त्री दाहालले पनि कांग्रेसकै स्वरमा राष्ट्रिपति पदमा स्वर मिलाउनु भनेको उनको अस्थिर र अविश्वासनीय राजनीतिको स्वभावजन्य पाटो हो । निर्वाचन पश्चात सरकार निर्माण हुनु अघि कांग्रेस र माओवादीबाट राष्ट्रिय सहमतिको कुरा कही कतै सुनिएको थिएन । देउवा र दाहालबीच को प्रधानमन्त्री बन्ने भन्ने कुरा वाहेक वाहिर अर्को कुरा आएको थिएन । तर, कांग्रेसले प्रतिपक्षको वेञ्च खाली गर्दै एकाएक सरकारलाई विश्वासको मत दिएसंगै उठाइएको राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा समिकरण भत्काउने छुरा वाहेक अर्को केही होइन । उनले एकपछि अर्को गर्दै राजनीतिक पार्टीहरुलाई दिदै आएको धोकाधडी उनलाई मात्रै होइन, आउँदा दिनमा उनको पार्टी माओवादीलाई कहाँ पु¥याँला ?

सोही रणनीति अनुसार नै सभामुख र उपसभामुख पदमा काँग्रेसले उम्मेदवार उठाएको हो । यी दुवै पदमा काँग्रेसले आशा गरे जस्तो सफलता पाउन सकेन । काँग्रेस सत्ता गुमाउनुपर्दाको गहिरो पिडामा छ । उसले सोच्दै नसोचेको घटना भएको जसरी अहिले काँग्रेस आत्तिएको छ । जसरी पनि र जति सक्दो चाँडो काँग्रेस सत्तामा आउन आतुर देखिएको छ । अन्ततः काँग्रेसको यही आतङ्कपूर्ण छट्टपट्टीका कारण काँग्रेस बिस्तारै झन् पछि झन् कमजोर बन्दै गइराखेको छ ।